मलखाद वितरणमा देखिएको अनियमितता समाधान गर्न वडा अध्यक्ष यादवकाे माग, बुझाए ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–३ नम्बर वडा कार्यालय, फुलिका कपिलवस्तुले मल वितरणमा देखिएको अनियमितता र समस्या समाधानको माग गर्दै गाउँपालिकामा ज्ञापनपत्र पेस गरेको छ ।

वडाको तर्फबाट वडाध्यक्ष शैलेन्द्र कुमार यादवले ज्ञापनपत्रमा सहकारी संस्थामार्फत वितरण गर्न पठाइएका मलहरू समयमै नपुगेको, सहकारीमार्फत बढी मूल्यमा बिक्री भएको र स्थानीय किसानले असुविधा भोग्नुपरेको उल्लेख गरेका छन् ।

उनका अनुसार नेपाल सरकारको सहकारी संस्थामार्फत कृषि मल वितरण गर्ने निर्णय भए पनि मायादेवी गाउँपालिकामा तोकिएको दरभन्दा बढी मूल्य लिइएको र किसानहरूलाई आवश्यक समयमा मल नपुग्दा खेतबारीमा कृषकहरू समस्यामा परेका छन् ।

वडाले गाउँपालिकाको मल वितरण व्यवस्थापन समिति गठन गरी वास्तविक किसानले सहज रूपमा मल पाउने व्यवस्था मिलाउन माग गरेको छ । साथै, वितरणमा देखिएका अनियमितता र समस्या समाधानका लागि तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ ।

वडाध्यक्ष यादवले भने, “हामी किसानको पक्षमा छौं, वितरण प्रणालीमा देखिएको त्रुटि सच्याइ नल्याइसम्म हाम्रो आवाज उठिरहनेछ ।”

ज्ञापनपत्रको प्रतिलिपि गाउँपालिका उपाध्यक्षसहित, प्रमुख प्रशासकीय अधिकृत, मल वितरण समिति संयोजक, तथा सम्बन्धित निकायहरूमा समेत पठाइएको छ ।

प्रतिक्रिया

खबर सबै