नवप्रभात सहकारीलाई बाणगंगा नगरपालिकाको सर्वोत्कृष्ट बचत तथा ऋण सहकारीको उपाधि

बाणगंगा, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित श्री नवप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नगरभित्रका बचत तथा ऋण सहकारीहरूमध्ये सर्वोत्कृष्ट सहकारीको उपाधि हात पार्न सफल भएको छ। बाणगंगा नगरपालिकाको १७ औँ नगर सभाबाट नवप्रभात सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरिएको हो।

बाणगंगा नगरपालिका सहकारी शाखाको तथ्यांक अनुसार नगर क्षेत्रभित्र क्रियाशील सयौं सहकारीहरूमध्ये वडा नम्बर ९ भलवाडमा सञ्चालित नवप्रभात सहकारीले उत्कृष्ट सेवा, पारदर्शी सञ्चालन र वित्तीय सूचकांकका आधारमा यो पुरस्कार पाएको हो।

संस्थाका अध्यक्ष वसन्त खनालले यो सम्मान सम्पूर्ण सदस्य, कर्मचारी तथा शुभेच्छुकहरुको निरन्तर सहयोग र योगदानको प्रतिफल भएको बताउँदै आभार प्रकट गरेका छन्। उनले भने, “सहकारीले पाएको यस सम्मानले हाम्रो संस्था मात्र होइन, सम्पूर्ण भलवाड क्षेत्र र बाणगंगा–९ लाई समेत गर्व गर्ने अवसर दिएको छ। अझ बढी पारदर्शी र सदाचारयुक्त सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।”

नगर प्रमुख, उप–प्रमुख र सहकारी शाखा प्रमुखसहितको विशेष उपस्थितिमा नगर सभामा नवप्रभात सहकारीलाई सम्मान पत्र र नगदसहितको पुरस्कार प्रदान गरिएको थियो। नगरपालिकाले आगामी दिनहरूमा पनि सहकारी क्षेत्रलाई थप प्रभावकारी र उत्तरदायी बनाउने प्रतिवद्धता जनाएको छ।

प्रतिक्रिया

खबर सबै