



पूर्व परराष्ट्रमन्त्री ज्ञवालीको करकमलबाट कपिलधाममा तीन साहित्य–रत्नको प्रतिमा अनावरण

कपिलवस्तु | कपिलवस्तुको प्रसिद्ध साहित्य तिर्थस्थलको रुपमा परिचित कपिलधाम साहित्य तिर्थ स्थलमा शनिबार तीन मूर्धन्य साहित्यकारहरुको प्रतिमा अनावरण गरिएको छ । नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीको करकमलबाट साहित्यकारहरुको प्रतिमा अनावरण गरिएको हो ।
कपिलधाम स्थित साहित्य तिर्थ स्थलमा आयोजित एक कार्यक्रममा ज्ञवालीले विद्धद्धर पं. रश्मिराज अज्र्याल, हिमलाल ज्ञवाली (हिलाज्ञ) र प्राध्यापक डा. विष्णुराज आत्रेय (लाटो साथी) को प्रतिमा अनवारण गरे । उक्त प्रतिमा अनवारण कार्यक्रममा पुर्व परराष्ट्र मन्त्री ज्ञवाली सँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी आर्यल र उप मेयर रिताकुमारी थारु सहित दर्जनबढी साहित्यकार तथा प्रध्यापकहरुको उपस्थिति रहेको थियो भने तीनैजना साहित्यकारहरुका परिवारजन तथा आफन्तजन लगाएतको उपस्थिति रहेको थियो । कपिल आरोग्य मन्दिर कपिलधाममा अध्ययनरत वटुकहरुबाट स्वस्ती वाचनसँगै पुर्व परराष्ट्र मन्त्री ज्ञवाली र मुख्यमन्त्री आचार्यले संयुक्त रुपमा साहित्यकारहरुको प्रतिमा अनावरण गरेका हुन ।
कपिलधाममा विशेष समारोह
साहित्यकारहरुको प्रतिमा अनावरण पश्चात कपिलधाम स्थित ध्यान केन्द्रमा विशेष समारहेको आयोजना समेत गरियो । जहाँ कविहरुका रचना वाचन, साहित्यकार तथा स्रष्टा सम्मान लगाएतका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कपिलवस्तुको प्रसिद्ध साहित्य तिर्थस्थल कपिलधाम साहित्य चौतारीमा देशबाट साहित्यका विभिन्न विधामा प्रसिद्धी कमाएका दुई दर्जनबढी साहित्यकार तथा मूर्धन्य स्रष्टाहरुको शालिक स्थापना गरिएको छ । कपिलधाम साहित्यतीर्थ एक विशेष साहित्यिक स्थल र साहित्यकारहरुको जमघट हुने समारोहको साक्षी बनाउने योजनाका साथ यहाँ साहित्यकारहरुको प्रतिमा स्थापना गर्ने गरिएको छ ।
लुम्बिनी प्रदेशका दुई अत्यन्तै प्रभावशाली साहित्यकार—प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’ र समाजसेवी हिमलाल ज्ञवाली—को स्मृतिमा स्थापना गरिएका प्रतिमाहरूको अनावरणमा करिब २ सय बढी मानिसहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा स्थानीय एवं राष्ट्रिय स्तरका थुप्रै साहित्यप्रेमी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थितिले साहित्य तिर्थ स्थललाई थप देशव्यापी उजागर गर्न मद्धत पुगेको यहाँ बोल्ने वक्ताहरुले बताएका थिए ।
कार्यक्रमको आयोजना हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठान र प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) स्मृति प्रतिष्ठानको रहेको थियो भने सहआयोजक संस्थाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान, कपिल आरोग्य मन्दिर र लुम्बिनी वाङ्मय प्रतिष्ठान रहेका थिए।
साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनतर्फ केन्द्रित यस प्रकारको आयोजनाले आगामी पुस्तालाई पनि प्रेरणा प्रदान गर्ने अपेक्षा लिइएको साहित्यकारहरुले बताएका छन् ।
को हुन प्रा. डा. विष्णुराज आत्रेय ?
विष्णुराज आत्रेय ( २००० – २०७७) एक नेपाली लेखक र कवि थिए, जसले नेपाली भाषा , संस्कृत भाषा र अवधी भाषामा साहित्यको रचना गरे । उनले सन् १९६३ देखि आफ्नो कवितामा लाटोसाथी (अर्थः मूक मित्र) शीर्षकको प्रयोग गरे। संस्कृत भाषामा हाइकु लेख्न सुरु गर्ने उनलाई पहिलो व्यक्ति मानिन्छ । आत्रेयको जन्म २००० साल पुस २५ मा देवराज उपाध्याय र शारदा देवीको पहिलो छोराको रुपमा कपिलवस्तुको रश्मिनालयमा भएको थियो । उनका बुबा देवराज र हजुरबुबा रश्मिराज दुवै संस्कृत विद्वान थिए। उनको नाम विष्णुराज आत्रेय भए पनि सन् १९६३ देखि आफूलाई ’लाटोसाथी’ भनेर चिनाउने उनको विश्वास थियो कि साहित्य आफैं मौन हो र यसले मानिसलाई जीवन र भावना थप्छ। उनले आफ्नो साहित्यिक शीर्षकमा ’लाटोसाथी’ थप्नुको कारण पनि हुन सक्छ। उनले आफ्नो पहिलो लघु–महाकाव्य ’कपिलवस्तु’ मा यसरी व्यक्त गरेका छन ः “लिपि छ मूक लेखेनी मूक लेखक पनि स्वयं म मूकै छु।“पटकथा मौन छ, लेखन मौन छ र म मुख्य लेखक भएर पनि मौन छु ।
उनी कपिलवस्तु समाजका उपाध्यक्ष, पाणिनी पुरस्कार समितिका सचिव (१९९१ ईस्वी), नूरगंगा प्रतिभा पुरस्कार गुठीका सदस्य (१९९२ ईस्वी), दधिराम मरासनी स्मृति प्रतिष्ठानका कार्यकारिणी सदस्य (१९९४ ईस्वी), नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, उपाध्यक्ष समेत भएका थिए। गौकल्याण संघका अध्यक्ष, कपिलवस्तु समाजका सल्लाहकार, रुपक स्मृति प्रतिष्ठानका संयोजक, मदन पुरस्कार गुठीका सदस्य आदि । उनले नेपालको कपिलवस्तुमा भवानी भिक्षुको मुर्ति निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तो छ राष्ट्रवादी कवि हिमलाल ज्ञवालीको संक्षिप्त जीवन
राष्ट्रवादी कविको छवि बनाएका साहित्यकार तथा समाजसेवी, कर्मबीर एवं परोपकारी हिमलाल ज्ञवाली (हिलाज्ञ) को जन्म रुरु ग्राम भटुकुवा टाकुरा गुल्मीमा माता मानकुमारी र पिता प्रेमनारायण ज्ञवालीको कोख बाट भएको थियो । उनको साहित्यिक यात्रा वि.सं. २०२४ देखि नै शुरु भएर आजीवन चलिरह्यो । उनले साहित्यका अतिरिक्त पत्रकारिता, साहित्यिक प्रतिष्ठानहरूको स्थापना एवं साहित्यिक कोषहरूको स्थापना, विद्यालय एवं साहित्यिक भवन निर्माण, विद्यालय एवं कलेज स्थापना जस्ता विविध कार्यहरूमा अथक योगदान गरे ।
लुम्विनी वाङ्मय प्रतिष्ठान एवं प्रेमा वाङ्मय प्रतिष्ठान उनले स्थापना गरि संस्थापक अध्यक्ष रहेर साहित्यको श्रीवृद्धिमा लागिरहे । लुम्बिनी वाङ्मय प्रतिष्ठान हिमलाल ज्ञवाली साहित्य विकास कोष र प्रेमा वाङ्मय प्रतिष्ठान साहित्य, लोक संस्कृति, शिक्षा र सञ्चार विकास कोष स्थापना गर्नुको साथै कपिलधाम साहित्य तीर्थका अभियन्ता रहेका थिए । उनले २०३६ देखि साहित्यिक पत्रिका लाली गुराँस द्वैमासिक स्थापना गरी नियमित प्रकाशित भइरहेको छ।
दिवंगत वा जीवित साधक एउटै थलोमा देखिने : कपिलधाम
मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत वा जीवित साधक एउटै थलोमा देख्न चाहनेहरुका लागि कपिलवस्तुको कपिलधाम आउँदा हुन्छ । यहाँ अहिले विभिन्न क्षेत्र र भाषा वाङ्मय साधना गर्ने राष्ट्रका दुई दर्जनबढी अमूल्य निधिका प्रतिमा एकै ठाउँमा देख्न सकिन्छ । सबैका अर्धकदका प्रतिमा छन् ।
वाणगंगा नगरपालिका–९, कपिलधामस्थित उक्त ठाउँलाई ‘साहित्य तीर्थ’ नाम दिइएको छ । बनगाई–भलवार्ड कालोपत्रे सडक खण्डको उत्तर लहरै सालिक देख्न सकिन्छ । सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको छ । उनको सालिक ०७० मा अनावरण गरिएको थियो । उनको सालिक साहित्यकार हरिराज शर्माको खर्चमा स्थापना गरिएको थियो ।
त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक छ । उनको सालिक नेपाल प्रज्ञा प्रतिष्ठान र वाणगंगा साहित्य प्रतिष्ठानको लागतमा बनाइएको हो । त्यसपछि क्रमशः विभिन्न स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङ्मय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन् ।
दधिराम मरासिनी स्मृति प्रतिष्ठानद्वारा पं. दधिराम मरासिनी, भीमनिधि तिवारी साहित्य प्रतिष्ठानद्वारा भीमनिधि तिवारीको र धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा जनकविकेशरी धर्मराज थापाको प्रतिमा राखिएको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा लीलाध्वज थापा, जयतु संस्कृतम् समितिद्वारा पूर्णप्रसाद ब्राहृमण र खिल शर्मा, राजीव लोचन जोशीद्वारा राजीवलोचन जोशीको प्रतिमा राखिएको छ । रुद्रराज साहित्य सेवा समितिद्वारा सरदार रुद्रराज पाण्डे, विष्णुराज आत्रेयद्वारा रश्मिराज आत्रेय र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानद्वारा मास्टर मित्रसेन थापाको प्रतिमा राखिएको छ । त्यस्तै, थारू अगुवा कृष्णबहादुर चौधरीद्वारा नेपालका त्रिभुवन, मदन र साझ पुरस्कार पाउने एकमात्र सहित्यकार भवानी भिक्षुको र रूपादेवी तथा अनन्त पन्थीद्वारा टीकाराम पन्थीको प्रतिमा राखिएको छ । त्यस्तै एक मात्र महिला कवयित्री लोकप्रिया देवीको प्रतिमा शशी रिमाल र शंकर रिमालले स्थापना गरेका हुन् । उनी लक्ष्मीप्रसाद देवकोटाकी बहिनी हुन् । वासु स्मृति प्रतिष्ठानद्वारा कवि वासु शशीको र समालोचक कुमारबहादुर जोशीको प्रतिमा राखिएको छ । प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन् । प्रतिमा ढुंगा, पित्तल र फलामका बनाइएका छन् । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च हुन्छ । लुम्बिनी वाङ्मय प्रतिष्ठानले संयोजन गरेर साहित्य तीर्थ बनाएको हो । कपिल आरोग्य मन्दिर कपिलधाम धार्मिक वनको ३ बिघा जग्गामा प्रतिष्ठानले साहित्य तीर्थ बनाइरहेको हो ।
राष्ट्रको गौरव बढाउने प्रतिभावान् मूर्धन्य साधकको योगदानका उच्च मूल्यांकन गर्न यहाँ प्रतिमा राखिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानले जनाएको छ । यहाँ मुलुकभरिका १ सय १ स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको हो । नेपालबाहिर रहेर पनि नेपाली भाषा, साहित्य र कला श्रीवृद्धिमा योगदान गर्ने साधकका पनि यहाँ प्रतिमा राखिने बताइएको छ ।

खबर सबै
-
घट्यो अमेरिकी डलरको मूल्य
-
पश्चिमी वायु कमजोर बन्दै : आज बेलुकादेखि मौसममा सुधार आउने सम्भावना
-
विश्वकप लिग-२: सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
बाणगंगामा स्कुटर दुर्घटना, १ जनाको मृत्यु
-
कपिलवस्तुमा स्कार्पियोको ठक्करबाट एक वृद्धको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते
-
रुपन्देहीका ४ उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
-
शान्ति पुनर्स्थापना गृहको एक वर्ष : ७ हजार ५ सय बढीलाई परामर्श, ३७३ जनाको उद्घार
-
“प्रेमको खेल, मृत्युको जाल” — आफ्नै प्रेमीकाकाे हत्या प्रयासमा नाटकीय षड्यन्त्र !







प्रतिक्रिया