सिद्धार्थ क्याम्पसमा स्ववियु चुनाव : वाम तालमेलको घेराबन्दी तोड्न सक्ला त ने.वि.संघ

नवराज बेल्वासे : जिल्लाकै प्रतिष्ठित शैक्षिक संस्था सिद्धार्थ क्याम्पस बुड्चीमा यही चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । विद्यार्थी राजनीतिमा महत्वपूर्ण मानिने यो चुनाव यस पटक निकै प्रतिस्पर्धात्मक र रोचक हुने संकेत देखिएको छ।

सिद्धार्थ क्याम्पस विगतदेखि अनेरास्ववियुको बलियो गढका रूपमा परिचित थियो। तर, २०७९ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि संघ) का उम्मेदवार निल कमल थारुले ऐतिहासिक जित हात पार्दै वामपन्थी एकछत्र दबदबालाई तोड्न सफल भएका थिए। यही कारण, यस वर्षको निर्वाचनमा वाम गठबन्धन आफ्नो गढ पुनः स्थापित गर्न चाहन्छ भने नेवि संघ अघिल्लो जितलाई निरन्तरता दिने रणनीतिमा छ।

यस पटकको स्ववियु चुनावमा वामपन्थी विद्यार्थी संगठनहरूबीच विशेष तालमेल भएको छ। अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), समाजवादी निकट अनेरास्ववियु, र विप्लव निकट विद्यार्थी संगठनले साझा उम्मेदवार उठाउने सहमति गरेका छन्। चारवटा वामपन्थी संगठन मिलेर यो चुनाव लड्न लागेकाले उनीहरूले संस्थागत रूपमा बलियो उपस्थिति देखाउन खोजिरहेका छन्।

वाम गठबन्धनले सभापतिको उम्मेदवारका रूपमा अनेरास्ववियुका पशुपति गिरीलाई मैदानमा उतारेको छ। उनी संगठनभित्र लामो समयदेखि सक्रिय छन् र विद्यार्थीहरूमाझ लोकप्रिय मानिन्छन्। गठबन्धन पक्षले गिरीको नेतृत्वमा एकताबद्ध भई जित सुनिश्चित गर्ने दाबी गरिरहेको छ । २०७९ मा सम्पन्न स्ववियु चुनावमा सचिवका रुपमा गिरीले जित हात पारेका थिए ।

अर्कोतर्फ, नेवि संघले वाम गठबन्धनको घेराबन्दी तोड्दै पुनः जित हात पार्ने रणनीति बनाएको छ। संगठनले यस पटक बहुमत निकट अनेरास्ववियुसँग चुनावी तालमेल गर्दै आफ्नो पकड अझ मजबुत बनाउने योजना अघि सारेको छ ।

नेवि संघले सभापतिको उम्मेदवारका रूपमा मनोज न्यौपानेलाई अगाडि सारेको छ। उनी विद्यार्थीहरूमाझ परिचित अनुहार हुन् र क्याम्पसको नेतृत्वमा परिवर्तन ल्याउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। अघिल्लो चुनावमा निल कमल थारुले पाएको जितलाई आधार बनाएर नेवि संघले यस पटक थप सशक्त रूपमा चुनावी प्रचार गरिरहेको छ।

सिद्धार्थ क्याम्पस कपिलवस्तु जिल्लाको सबैभन्दा ठूलो क्याम्पस हो, जहाँ कूल १,०५३ जना विद्यार्थी मतदाता रहेका छन्। चुनावी समीकरण हेर्दा मतदाताहरू वाम गठबन्धनतर्फ ढल्किने कि नेवि संघको निरन्तरतालाई समर्थन गर्ने भन्ने कौतूहलता बढेको छ।

विगतमा यहाँ वामपन्थी संगठनहरूको दबदबा रहँदै आएको भए पनि २०७९ को चुनावले परिदृश्य फेरिएको थियो। यस पटक वाम गठबन्धन अझ संगठित देखिए पनि नेवि संघको आक्रामक चुनावी रणनीति उनीहरूका लागि चुनौती बन्न सक्छ।

चुनावको नतिजाले सिद्धार्थ क्याम्पसको विद्यार्थी राजनीतिमा कस्तो नयाँ समीकरण ल्याउने हो, त्यो भने चैत ५ गते मात्र स्पष्ट हुनेछ। मतदाताले निरन्तरता दिने कि फेरि नयाँ इतिहास कोर्ने? सबैको चासो यही प्रश्नमा केन्द्रित रहेको छ ।

प्रतिक्रिया