

लुम्बिनीमा लागूऔषधको चपेटाः प्रयोगकर्ता र कारोबारीको संख्या बढ्दै





बुटवल : लुम्बिनी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महिनाको विवरण सार्वजनिक गर्दै यो वर्ष लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्नको संख्या बढेको संकेत गरेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दानबहादुर कार्कीका अनुसार, लागूऔषध ओसारपसारमा संलग्न पक्राउ परेकाहरूको संख्या अघिल्लो वर्षकै जस्तै भए पनि उनीहरूबाट बरामद हुने लागूऔषधको परिमाण दोब्बरले वृद्धि भएकोले प्रयोगकर्ता थपिएको हुन सक्ने अनुमान गरिएको छ।
पक्राउको तथ्याङ्क
चालु आर्थिक वर्षको पौष मसान्तसम्म ५०३ जना लागूऔषध ओसारपसारमा संलग्नलाई पक्राउ गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ४२६ जना पक्राउ परेका थिए। पक्राउ परेकाहरूबाट यसपटक १९.३५ केजी गाँजा, ३०.५३ केजी चरेस, १०,४२३ क्याप्सुलजस्ता औषधीजन्य लागूऔषध, र ३६० ग्राम ब्राउनसुगर बरामद गरिएको छ।
अघिल्लो वर्षको तुलनामा यो परिमाण निकै बढेको छ। गत वर्ष सोही अवधिमा ८.६८ केजी गाँजा, कुनै चरेस नभएको, ६२३ क्याप्सुल औषधीजन्य लागूऔषध, र १९० ग्राम ब्राउनसुगर मात्रै बरामद भएको थियो।
सबैभन्दा बढी प्रभाव बाँकेमा
प्रदेशका जिल्लाहरूमध्ये बाँके लागूऔषध समस्या प्रभावित जिल्ला रहेको देखिएको छ। पछिल्लो ६ महिनामा बाँकेबाट ११५ जना पक्राउ परेका छन्। त्यसपछि रुपन्देहीमा ५१ जना, बर्दियामा ५० जना, दाङमा ४२ जना, पश्चिम नवलपरासीमा १९ जना, पाल्पामा ५ जना, अर्घाखाँचीमा २ जना, र पश्चिम रुकुम तथा रोल्पाबाट १/१ जना पक्राउ परेका छन्।
डिआईजी कार्कीका अनुसार, लागूऔषध प्रयोगकर्ताहरूमा १५ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या उच्च रहेको छ। यो अवस्थाले लुम्बिनी प्रदेशमा लागूऔषध समस्या झनै जटिल बन्दै गएको सन्देश दिएको प्रहरी कार्यालयको भनाइ छ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया