लायन्स क्लब कपिलवस्तुद्वारा लागू औषधविरुद्ध विशेष प्रशिक्षण आयोजना गर्दै

लागू औषध नियन्त्रणको प्रभावकारी कदमका लागि लायन्स क्लब अफ कपिलवस्तुले महिलाहरूलाई लक्षित गरी विशेष क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम मंसिर ९ गते आइतबार कक्षा ६ देखि १२ सम्मका विद्यालयका प्राचार्यहरू र विभिन्न पेशामा आबद्ध व्यक्तिहरूका लागि सञ्चालन गरिने छ।

प्रमुख प्रशिक्षकका रूपमा नेपाल प्रहरीका पूर्व एस.ए.पी तथा दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय वक्ता बसन्त राज कुँवर रहनेछन्। कुँवरले लागू औषधविरुद्धको सचेतना, नियन्त्रण र प्रभावकारी रणनीतिबारे सहभागीहरूलाई विशेष ज्ञान प्रदान गर्नेछन्।


कार्यक्रम वाणगंगा नगरपालिकाको सहयोग र लायन्स क्लब कपिलवस्तुका पूर्व अध्यक्ष सुरेन्द्र घिमिरेको संयोजकत्वमा सम्पन्न हुनेछ। कार्यक्रमका संयोजक घिमिरेका अनुसार यस कार्यक्रमले महिलाहरूलाई लागू औषध नियन्त्रण र रोकथाममा सशक्त भूमिका निर्वाह गर्न आवश्यक सीप प्रदान गर्ने उद्देश्य राखेको छ।

लायन्स क्लब अफ कपिलवस्तुका वर्ष २०२४/२५ का अध्यक्ष नवदत्त घिमिरेले भने, “यो कार्यक्रम केवल प्रशिक्षण मात्र होइन, समाजलाई लागुऔषधमुक्त बनाउनको लागि एउटा ठुलो कदम हो। महिलाहरूको भूमिका यस अभियानमा निर्णायक हुनेछ।”

यस प्रकारको कार्यक्रममा सहभागीहरूले आफ्ना समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

खबर सबै