असिना पानीले किसानको खेतीमा क्षति

साझाकुरा | कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सोमबार बेलुका परेको असिना पानीले किसानको कृषि बालीमा क्षेती पुर्याएको छ । खासगरी यतीबेला हिउँदे बाली लगाइसकेका किसानहरुलाई यो पटकको बेमौसमी वर्षाले चिन्तित तुल्याएको छ ।
वर्षासँगैको असिनाले तराइका जिल्लामा खेतमा छरिएको तेलहन तथा दलहन बालीमा असर पारेको छ भने हिउँदे तरकारी बालीमा पनि यसको असर छ । यस्तै धान बाली भित्राउन तयारी अवस्थामा रहेका किसान समेत चिन्तित छन ् ।सोमबार बेलुका लुम्बिनी प्रदेशका जिल्लाहरुमा असिनासहितको पानी परेको हो ।
सोमबार बेलुका परेको असिना पानीको कारण किसानले लगाएको गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको किसानहरूको भनाई छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा यतिबेला किसानहरुले धान बाली भित्राउने र तोरी, गहुँ, मसुरो, केराउ लगाएतका बाली लगाइरहेका थिए । यस्तै आलु लगाएतका तरकारी बालीसमेत लगाउने समय पनि यही भएकाले कतिपय किसानले लागइसकेका छन भने कतिपयले बाली लगाउन खेत तयारी गरीरहेका थिए । यसमा पनि वर्षाले असर पारेको किसानको भनाइ छ ।
उता रुकुमको त्रिवेणी गाउँपालिका ७ राजकोटकी रामसरा खड्काले भर्खरै लगाएको गहुँ खेती असिना पानीले बगाएको बताउनुभयो । उहाँले ठुलो मात्रामा परेको पानीले धान खेती ढल्याउदै गरेका र गहुँ खेती लगाउँदै गरेका किसानलाई मर्कामा पारेको जनाउनुभयो ।

अर्का किसान शङ्कर डाँगीले गहुँ, तोरी र फलफूल खेतीमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँले गहुँ र तोरी बगाएको र असिनाले सुन्तला, कागती झारेको बताउनुभयो ।

असिना पानीले अन्य स्थानमा धान र पराल ढल्याउदै गरेका किसानलाई समस्यामा पारेको छ ।

प्रतिक्रिया