लायन्स क्लब अफ कपिलवस्तु द्वारा ३३ प्वाइन्ट रगत संकलन
कपिलवस्तु, : लायन्स क्लब अफ कपिलवस्तुवर्ष २४/२५को आयोजनामा, लियो क्लब अफ कपिलवस्तु र स्वभिमान बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा ३३ प्वाइन्ट रगत संकलन गरिएको छ। यो कार्यक्रम स्वभिमान बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक उत्सवको अवसरमा सम्पन्न भएको हो।
कार्यक्रममा वाणगंगा रेडक्रस उपशाखाका अध्यक्ष शंकर पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै प्रमुख अथिति पाण्डेले आफ्नो सम्बोधनमा रगत संकलन जस्तो महत्त्वपूर्ण अभियानमा सहभागी हुन पाउँदा गर्व लागेको बताए। उनले भने, “रगतदान जीवनदान हो। यसले अरूको जीवन बचाउन मात्र होइन, समाजमा सहानुभूति र मानवतावादको भावना पनि फैलाउँछ। लायन्स क्लब अफ कपिलवस्तु, लियो क्लब अफ कपिलवस्तु, र स्वभिमान बचत तथा ऋण सहकारी संस्थाले गरेको यस सराहनीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।”
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ कपिलवस्तु वर्ष २४/२५ का अध्यक्ष नवदत्त घिमिरे, स्वभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवी पाण्डे, र लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष प्रविन गौतमले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा बोल्दै लायन्स क्लव अफ कपिलवस्तु वर्ष २४/२५ का अध्यक्ष घिमिरेले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “हामीले हाम्रा स्थानीय समुदायको सेवा गर्न रगत संकलन अभियान आयोजना गरेका हौं। रगतको आवश्यकता आकस्मिक अवस्थाहरूमा अत्यधिक महत्त्वपूर्ण हुन्छ, र हामीले संकलित रगतले कयौं जीवनहरू बचाउन सक्नेछ भन्नेमा विश्वस्त रहेको बताएका थिए ।
उनले यस अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै सहकर्मीहरू, स्वयंसेवकहरू, र विशेषत: रगतदाताहरूलाई धन्यवाद दिदै, यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गरिरहने प्रतिवद्धता व्यक्त गरे। “हाम्रो क्लब सधैं समाजसेवामा समर्पित छ र हामीले भविष्यमा पनि यस्तै सेवामूलक कार्यहरू गर्दै जानेछौं,” उनले भने।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरे, धातानन्द भुसाल, रामशुभागे थारु, ओम प्रकाश घिमिरे सहित स्वभिमान सहकारीका पुर्व अध्यक्ष घनश्याम घिमिरे सहितको उपस्थिती कार्यक्रममा रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष नाराण्या पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम लायन्स कपिलवस्तुका उपाध्यक्ष सागर घिमिरेको संयोजकत्व तथा सञ्चालनमा सम्पन्न भएको थियो ।
रगत संकलन अभियानलाई सफल बनाउन स्वयम्सेवीहरू र स्थानीय बासिन्दाहरूको उल्लेखनीय योगदान रहेको थियो। रगत संकलनको लागि प्रविधिक सहयोग वाणगंगा रेडक्रस उपशाखाले प्रदान गरेको थियो।
प्रतिक्रिया