तीजका गीतमा परम्पराको संकट :अश्लीलता र व्यावसायिकता बढ्दा मौलिकता खतरामा

कपिलवस्तु | आज भन्दा झण्डै एक दशक अघि नेपाली चेलीहरुले गाउँने यस्तै गीत आजका दिनमा कहाँ सुन्न पाइन्छ ? अनि तीजको माहोल सँगै गाउँघरमा मौलिक भाकाहरुमा छमछमी नाचिनो नाच । अहिले तीजको अवसरमा गाइने गीतहरूमा मौलिकता र परम्पराको कमी देखिएको छ।

माइती राजैले चिनाएको चौतारी
ढलक्कै ढल्कियो मौलो बरिलै
दाजु भाइले बिर्सदै गए,
दिन दिन माइति देश नौलो बरिलै…

महिलाका दुःख, पीडा र वेदना गीत–संगीत मार्फत उजागर गर्ने पर्व पनि हो तीज । प्रविधिको विकास नभएका बेलामा महिलाहरू माइतमा जम्मा भएर आफ्नो पीडालाई गीत मार्फत प्रस्तुत गर्थे, जसले मौलिकता र यथार्थता बोकेको हुन्थ्यो । समाजमा भएका विकृति, विसंगति र विकासका पक्षलाई पनि गीत मार्फत प्रस्तुत गर्ने पर्वको रूपमा तीजलाई चिनिन्थ्यो ।
तर हिजोआज यो मौलिक पर्वको महत्त्वपूर्ण पक्ष गीत–संगीतलाई व्यापारसँग जोड्ने गरिएको छ । मौलिकता हराउँदै, उच्छृङ्खलता र अश्लीलता भरिएका शब्द र भिडियो सार्वजनिक गर्दै डिजिटल प्लाटफर्ममा भ्युज बटुल्ने होडबाजी चल्दा अहिलेको तीजमा मौलिकताको संकट देखिएको पुराना पुस्ताका मानिसहरु बताउँछन् ।

कपिलवस्तु बाणगंगाकी पार्वती घिमिरेले भनिन्, ‘हिन्दु नेपाली महिलाको विशेष पर्व, जहाँ परम्परागत रूपमा नाचगान र भजनले भरिपूर्ण गीतहरू गाएर वेदनालाई प्रस्तुत गरिन्छ’ भन्ने कुरा अहिलेको समयमा अनौठो हुन थालेको छ । उनका अनुसार पहिले तीजका गीतमा दुःख वेदनाका भाव झल्किन्थें । रेडियो, टेलिभिजनले पनि यस्ता गीतहरूलाई प्राथमिकताका साथ प्रसारण गर्थे । गायकले भन्दा पनि बढी गायिकाले भाका हालेर तीजका गीत गाएका सुन्न पाइन्थ्यो । तर अहिले त्यस्ता भाव बोकका गीत न गाउँघरमा गाउने चलन छ, न कलाकारले बजारमा ल्याउने गर्दछन् ।

गाउँघरमा कतिपय स्थानमा आमा समूह र महिला समूहमार्फत महिलाहरु संगठित भएर मौलिक गीतहरु गाउने र नाच्ने गर्दछन् । जसका कारण केही झलक मौलिक तीज देखिन्छ । कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा शिवपर्वती मन्दिर आमा समूहका महिलाहरुले तीजको मौलिकता जोगाउन कै लाग मौलिक तीज भाका गाउने र नाँचने गरेको समुहकी एक सदस्यले बताइन् ।

तीज आयो जाउन बाबु दिदी लिनलाई
खुट्टैमा ढोग गरे है भेट्दा भेनालाई
हुन्छ आमा दिदी लिन जान्छु जान त,
कोशेली पो के लानि हो पर्छ लान त …

गायक गायीकाहरु पुर्षोत्तम न्यौपाने, प्रजापति पराजुली र हरिदेवी कोइरालाको स्वर रहेको यो गीत नेपाली तीज परम्पराको वास्तविक मौलिकता सँग जोडिएको छ । तीजका बेला माइतीमा छोरी वा चेलीबेटी जम्मा गर्ने र खुसी साट्ने पर्वका रुपमा समेत तीज पर्वलाई लिने गरिन्थ्यो ।

तर अहिले तीजका गीतलाई फेसनका रूपमा लिन थालिएको छ । तीज पर्वमा रातो सारी लगाएर माइतीको आँगनीमा नाच्ने, दिदीबहिनीसँग भेटघाट गर्ने, दर खाने र भगवान शिवको आराधना गर्ने परम्परालाई अहिले तडकभडक र रवाफिलो पर्वका रुपमा देखाउने होडबाजी चलेको छ । अहिलेका तीज गीतका शब्दहरूमा अश्लीलताले डेरा जमाउन थालेको छ । नृत्य कलाकारलाई रातो सारीमा होइन, अत्याधुनिक पहिरन प्रदर्शन गरेको देखिन्छ ।

रिमी र झिमी पानी है पर्याे,
धुव्रतारा मकैको पातलाई
जन्मेको ठाउँमा बसनु छैन,
धुव्रतारा छोरीको जातलाई …

तीज नजिकिंदै जाँदा धेरै गीत रिलिज भइरहेका छन् । तर त्यस्ता धेरै गीत विवादित पनि बनिरहेका छन् । उदाहरणका लागि ‘काले केके बोल्यो बोल्यो, मलाई बिस्ताराले पोल्यो’ भन्ने गीत विवादित भएपछि लोकप्रिय गायिका शान्तिश्री परियारले माफी नै माग्नुपरेको थियो । त्यस्तै, कविता क्षेत्री र भागीरथ चलाउनेको स्वरमा रहेको ‘बिहेअघि दिन्न म लरि लरिलै’, प्रीति आलेको ‘मादलु घन्काउँदै’, केशर ओली र सुमन थापाको ‘टिकटकमा भाइरल हल्लाएरै हो’, प्रीति आले र प्रकाश शर्माको ‘चियर्स बियर’ लगायत गीत अश्लील भएको भन्दै विवादित बनेका छन् ।

हरेक कुरा झैं गीत–संगीत पनि समयअनुसार परिमार्जन हुँदै जान्छन् । त्यसैले तीज गीतमा मौलिकता र आधुनिकताको सन्तुलन हुनुपर्छ, तर मौलिता नै संकटमा पर्ने गरी आउने गीतसंगितले विगतका तीजका पारंम्पारिक भावना, सांस्कृतिक भावनाशीलता र सामाजिक विषयवस्तु माथि नै प्रहार गरेको प्रष्ट छ । हालका केही तीजका गीतहरूले सांस्कृतिक मौलिकता र परम्परालाई चुनौती दिँदै समाजमा असहजता र विवाद निम्त्याइरहेका छन्।

पूर्वीय सांस्कृतिक परम्परामा, तीज विशेष रूपमा महिलाहरूको पर्व हो जसले व्यक्तिगत र सामाजिक दुःख सुखलाई गीतमा व्यक्त गर्दै आएको छ। रूपन्देहीको सैनामैना नगरपालिका–९ की सिता चापागाईंका अनुसार, तीजका गीतहरू असारको धान रोपाइँपछि सुरु हुने र साउने सक्रान्ति पछि तीजको रौनक बढ्ने परम्परा थियो। तीजका गीतहरूले परिवारको समस्या, सामाजिक मुद्दा र व्यक्तिगत पीडा समेट्ने गर्थे, जसले गर्दा यी गीतहरूको सुन्न र गाउने प्रवृत्ति निकै प्रभावशाली थियो। “पहिले तीजका गीतहरूमा हाम्रो दुःख र पीडालाई व्यक्त गरिन्थ्यो, तर अहिले ती पुराना भाकाहरू हराउँदै गएका छन्,” चापागाईंले भने।

पाल्पाको रिब्दिकोटकी लक्ष्मीकुमारी थापाले पनि तीजका गीतहरूमा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै बताइन्, “पैसा र भ्यूजको लोभमा अहिलेका गीतहरू मौलिकता र सांस्कृतिक भावनालाई हावी गर्दै छन्। पहिले तीजका गीतहरूले सामाजिक स्थिति र दुःखको व्याख्या गर्थे, तर अहिले तीजका गीतमा केवल मनोरञ्जन र अर्धनग्नता मात्र देखिन्छ।”

लोक तथा दोहरी गायिका कल्पना कुसुमले यसबारेमा टिप्पणी गर्दै भनिन्, “पछिल्लो समयमा दुईअर्थी र अश्लील शब्दहरूका कारण लोकसंगीत र संस्कृतिको अपमान भइरहेको छ। यो समाज र संस्कारको प्रति कलाकारहरूको जिम्मेवारी हो कि उनीहरूले यस्तो प्रवृत्तिको विरोध गर्नुपर्छ।” उनले थपिन् दुईवटा अर्थ लाग्ने शब्दहरू भएका गीतहरूको दृश्यलाई सुन्दर बनाउन सकिन्छ, तर त्यस्ता गीतहरूको प्रयोगले मौलिकता र सांस्कृतिक गहिराइलाई कमजोर बनाउँछ।

पारंपरिक तीजका गीतहरूको मौलिकता बचाउनका लागि गायिका शिलु भट्टराइले परिवारसँगै हेर्न सकिने खालका गीतहरू सृजना गर्नुपर्ने कुरा उठाइन्। उनले भनिन्, “तीजको मर्म र अर्थलाई जोगाउनका लागि सर्जकहरूले यथार्थ र सांस्कृतिक मूल्यहरूलाई ध्यानमा राखेर गीत लेख्नुपर्छ। विवादास्पद गीतहरूले मात्र चाँडै लोकप्रियता प्राप्त गर्न सक्छन्, तर दीर्घकालीन प्रभावमा भने असफल हुन सक्छन्।”

अग्रज पत्रकार दुर्गा पौड्यालले तीजका गीतहरूको हालको अवस्थामा असन्तोष व्यक्त गर्दै भने, “अहिले तीजका नाममा छाडा र अश्लील गीतहरूको हालीमुहाली भइरहेको छ। यसले हाम्रो सांस्कृतिक पर्वको सम्मानमा प्रश्न उठाएको छ। यस्ता गीतहरूलाई निरुत्साहित गर्न र सेन्सर गर्न आवश्यक छ।”

महिला अधिकारकर्मी सावित्रा घिमिरेले पनि पुराना तीजका गीतहरूलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताइन्। उनले भने, “पहिलेका गीतहरूले समाजमा चेतना ल्याएको थियो। अहिलेका गीतहरूले केवल पैसा कमाउने र भ्यूज बटुल्ने मात्र उद्देश्य राख्नाले तीजको मौलिकता संकटमा परेको छ। सर्जकहरूले राम्रो कामलाई प्रेरित गर्ने गीतहरू सिर्जना गर्नुपर्छ।”

प्रतिक्रिया

खबर सबै