तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतकी राज्यमन्त्री काठमाडौंमा

काठमाडौं | तनहुँमा भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न भारतकी राज्यमन्त्री काठमाडौं आइपुगेकी छन्। शुक्रबार बस दुर्घटना हुँदा घाइते भएका यात्रुलाई भेट्न र मृतक शवहरू लिएर जान भारतको केन्द्र सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे केही समय अगाडि काठमाडौं आइपुगेकी हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा उनी नेपाल आएकी हुन्। उनलाई त्रिभुवन विमानस्थलमा नेपालस्थित भारतीय राजदूताबास नवीन श्रीवास्तव लगायतका उच्चअधिकारीले स्वागत गरेका थिए। उनी घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल जाँदैछिन् । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए। आज बिहानैदेखि भरतपुर अस्पतालमा मृतकको शवको परीक्षण जारी रहेको छ।

दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको रायले बताए।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाली सेनाको टोली उद्धारमा जुटेको थियो।

दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको छ। दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेष्ट हाउसमा राखिएको छ।

प्रतिक्रिया

खबर सबै