

आफू मरेर यात्रुलाई बचाएका चालक विकको परिवारलाई ५ लाख दिने सरकारको निर्णय



काठमाडौं | चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ को सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकका परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ। यो सम्मान आगामी अगष्ट १९, विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले प्रदान गर्नेछन्।
संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर मनाइने यो दिवसले प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा कार्यमा उत्कृष्ट योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दछ। यस वर्षको विश्व मानवीय दिवस नेपाल सरकारले सुर्खेतमा विशेष कार्यक्रमको आयोजना गर्दै मनाउने तयारी गरेको छ।
गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा आएको भिरको पहिरो संगै खसेको ढुंगाले बस चालक मेघनाथ विकको मृत्यु भएको थियो। बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विकलाई ढुंगाले किच्दा उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। यस दुर्घटनामा बसमा रहेका करिब ३० यात्रु सकुशल थिए।
प्राकृतिक विपद्का समयमा आफूले ज्यान जोखिममा राखेर यात्रुहरूको जीवन बचाएको कारण सरकारले विकलाई यो सम्मान दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए।
अगष्ट १९ को दिन सँगै नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। यी बसहरूमा ६५ यात्रु रहेका थिए, जसमा तीन जनाले पौडेर ज्यान जोगाउन सफल भएका थिए। नेपाल र भारतका गोताखोरसहितको टोलीले २४ जनाको शव फेला पारेको भएता पनि अन्य यात्रु र बसहरूको अवस्था हालसम्म अज्ञात छ।


प्रतिक्रिया