

रोल्पा पुगेर डा. गोविन्द केसीले ४ सय बिरामी जाँचे



रोल्पा | अवकाशतप्राप्त वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीले रोल्पामा करिब ४ सय बिरामी जाँचेका छन् । चार दिनसम्म रोल्पा अस्पतालमा बसेर उनले बिरामी जाँचे । सोमबार रोल्पामा आइपुगेका उनले बिहीबारसम्म दैनिक करिब एक सय बिरामी जाँचेका हुन् ।
विशेषज्ञ सेवा प्रदान गर्ने डा. केसीको चाहना अनुसार रोल्पा अस्पतालले उनलाई यहाँ बोलाएको हो । डा. केसीले हाड भाँचिएको, हड्डी खिइएको, नसा च्यापिएको, ढाड कम्मर दुखेको, युरिक एसिड, बाथ रोग र हाडजोर्नी समस्या र हातखुट्टा पोल्ने, झम्झमाउने लगायत समस्यासँग जुधिरहेका बिरामीको स्वास्थ्य अवस्था जाँच गरेका हुन् । रोल्पा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको सहयोगमा उनले चार दिनसम्म निरन्तर बिरामी जाँच गरेको अस्पतालले जनाएको छ ।
डा. केसीको चाहना अनुसार अस्पतालमा बिरामी जाँच्ने प्रबन्ध मिलाइएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए । ‘रोल्पामा आएर बिरामीको जाँच गरी आफ्नो विशेषज्ञ सेवा प्रदान गर्न चाहेकाले अस्पतालले त्यससम्बन्धी सबै व्यवस्था मिलाएको हो,’ उनले भने ।
डा. केसी रोल्पामा आउने सूचनापछि रोल्पा लगायत छिमेकी जिल्लाका बिरामी अस्पताल आएका हुन् । सुरुमा दुई दिनसम्म बिरामी जाँच्ने योजना भए पनि बिरामीको संख्या वृद्धि भएपछि थप दुई दिनसम्म डा. केसीले बिरामी जाँचेका हुन् । निःशुल्क बिरामी जाँच गरिने सूचना पाएपछि अति दुर्गम गाउँबाट बिरामी आएको अस्पतालका स्वास्थ्यकर्मी कृष्णबहादुर डाँगीले बताए । उनका अनुसार डा. केसीलाई सघाउन अस्पतालका सम्पूर्ण टिम लागेको थियो । डाँगीका अनुसार केही बिरामीलाई अन्यत्र उपचारका लागि रिफर पनि गरिएको छ ।
लामो समय काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत रही अवकाशप्राप्त डा. केसी झोलामा औषधि बोकेर दुर्गम जिल्लाका अस्पतालमा पुगेर बिरामी जाँच्ने गरेका छन् । सेवाबाट अवकाश भएलगत्तै पश्चिम नेपालका दर्जनौं दुर्गम जिल्लाका अस्पतालमा पुगेर बिरामी जाँचेका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. केसीले नेपालको स्वास्थ्य अवस्था सुधार गर्नका लागि पटक–पटक अनशनसमेत बस्दै आएका छन् ।
रोल्पामा चार दिनसम्म डा. केसीले निःशुल्क आफ्नो विशेषज्ञता सेवा प्रदान गरेका हुन् । अस्पतालका अनुसार डा. केसीले आफूले बिनाशुल्क बिरामी जाँचे पनि अस्पतालले नै औषधि दिएको छ । ‘औषधि पनि निःशुल्क दिने व्यवस्था गरेको भए बिरामीका लागि राम्रो हुन्थ्यो । त्यसबारे अस्पताल व्यवस्थापन समितिले कुनै निर्णय गरेन,’ सूचना अधिकारी डाँगीले भने । दिनभर बिरामी जाँचेर डा. केसी आधा घन्टा हिँडेर सदरमुकाम लिबाङमा रहेको होटल हेरिटेजमा आफ्नै खर्चमा बास बस्न आए । उनलाई अस्पतालले रेउघास्थित रोल्पा अस्पतालको पाहुना कोठामा बस्ने व्यवस्था गरेको भए पनि त्यहाँ बस्न उनले अस्वीकार गरेका थिए ।
डा. केसीले यसअघि पनि रोल्पामा आएर बिरामी जाँचेका थिए । २०७३ को भदौ महिनामा लिबाङ र सुलीचौरमा गरी सयौं बिरामी जाँच गरेका थिए । त्यस क्रममा उनले सदरमुकामस्थित रोल्पा अस्पताल र पूर्वी रोल्पाको सुलीचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि बिरामी जाँचेका थिए ।


प्रतिक्रिया