बुटवलमा खानेपानी अभाव

बुटवल : बुटवल उपमहानगरपालिकामा खानेपानीको अभाव देखिएको छ । गर्मीमा स्वाभाविक रुपमा खानेपानीको माग बढेसँगै आपूर्तिमा सकस भइरहेको हो । बुटवलमा दैनिक झण्डै साढे ३ करोड लिटर खानेपानीको माग छ । तर, आपूर्ति भने दुईदेखि अढाई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थान बुटवलले जनाएको छ ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टले तिनाउबाट दैनिक १ करोड लिटर र बुटवलका विभिन्न २१ वटा ट्युबवेल (बोरिङ) बाट १ करोड ५० लाख लिटर खानेपानी आपूर्ति गरिएको बताए ।

खानेपानीको अभावका कारण उपभोक्ताले ट्याङ्करबाट पानी मगाउने गरेका छन् । नेपाल खानेपानी संस्थान बुटवलले माग अनुसार पानीको आपूर्ति गर्न झुम्सा खानेपानी आयोजना निर्माण थालेको तीन दशक पुग्न थालेको छ । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन ।

बुटवलको वडा नम्बर ७ र ८ मा पानीको सर्वाधिक अभाव छ । बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले खानेपानीको समस्या लिएर उपभोक्ताहरू आउने गरेको बताइन् । कम्तीमा २ घण्टा भए पनि दैनिक धारामा पानी आउने व्यवस्था मिलाउन आफूले खानेपानी प्रमुखसँग आग्रह गरेको उनले बताइन्

खानेपानी संस्थान बुटवलका प्रमुख भट्टले गर्मीमा माग धेरै बढ्ने बेलामा खानेपानीको स्रोत ट्युबवेल (बोरिङ) बाट पानी कम आउने गरेका कारण व्यवस्थापनमा समस्या भएको बताए ।

‘अहिले खानेपानीका ३ वटा (बोरिङ) बाट पानी आएको छैन । यस्तै बुटवल–नारायणगढ सडक निर्माणको क्रममा रामनगर क्षेत्रका खानेपानी पाइप काटिँदा पनि केही दिन समस्या भयो,’ उनले भने ।

बुटवलका लागि खानेपानीको प्रमुख स्रोत पाल्पाको तिनाउ नदी नै हो । त्यही नदीमा रहेको झुम्सा खानेपानी आयोजना तीन दशकदेखि निर्माणाधीन रहे पनि सम्पन्न हुन सकेको छैन । मुहानभन्दा तल तीन महिना अगाडि पुल भाँचिदा खानेपानी संस्थानको पाइप नै भाँचिएको थियो । त्यो पुल निर्माण गर्न बाँकी छ ।

बुटवल उपमहानगरकी उपमेयर सावित्रीदेवी अर्यालले बुटवलमा खानेपानी छिटो ल्याउन पहल गरिरहेको दाबी गरिन् ।

झुम्सा खानेपानी आयोजना २०५२÷०५३ मा पाल्पाका सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित सुरु भएको थियो । केही वर्षको प्रयासका बाबजुद आयोजना असफल भएपछि फेरि २०६४ सालमा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरु गरिएको थियो ।

सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाइदियो । फेरि २०७७ सालमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेको झुम्सा खानेपानी आयोजना अझै पूरा नहुँदा बुटवलमा खानेपानीको समस्या भएको हो ।

खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्त भट्टका अनुसार यो परियोजनाको ठेक्काको जिम्मा पाएको कन्काई कालिका जेभीको म्याद यही वैशाख २४ गतेसम्म छ । बिचमा पुल भाँचिदा फेरि म्याद थप गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

साढे १३ किलोमिटर मध्ये १२ किलोमिटर पाइन लाइन, ड्याम साइटको काम सम्पन्न भएको खानेपानी संस्थानका प्रमुख भट्टले बताए । उनले भने, ‘धेरै काम भएको छ । यो वर्षापछि बुटवलमा पानी आउने छ ।’

  • यो समाचार रातोपाटीमा तेजेन्द्र के.सीले लेखेका छन् ।

प्रतिक्रिया