देशमा दिनभर : माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेद्धारमा दाहाल देखि नेपालकी सनम शेर्पा उदाहरणीय महिलाको सूचीमा सम्म

नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएका छन् । मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी फाउन्डेसनले बालिका शिक्षा र महिला सशक्तीकरणमा उदाहरणीय कार्य गरेको भन्दै शेर्पासहित विश्वभरबाट पाँच महिलालाई उक्त सूचीमा राखेको छ । दुर्गम गाँउमा महिला शिक्षा तथा सशक्तीकरणमा भूमिका खेलेको भन्दै फाउन्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’को उपमा दिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । उनले राजनीतिक समीकरण बदलिएकोतर्फ संकेत गर्दै अब तयार हुने नयाँ ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्नुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए । ‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिंगो कर्मचारीतन्त्रलाई गाइड लाइन हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको जवाफ आगामी दिनमा मतदाताले दिने बताएका छन् । आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको पहिलो जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताएका हुन् । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने ।

दुर्गा प्रसाईंको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दालाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको इजलासले दुर्गा प्रसाई‌ंलगायतको मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो । 

प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । 

 बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रव्रज्या आयोजना गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् ।

साफ यु-१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार खेलिएको फाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराउँदै उपाधि चुमेको हो । 

बिक्री नभएर वाइन थुप्रिन थालेपछि अस्ट्रेलियामा अङ्गुरका दसौँ लाख झाङ उखेलिए

प्रतिक्रिया