देशमा दिनभर : ‘राष्ट्रियसभामा सिटौलाको चर्चा देखि फाइनल खेल्न नेपालले नामिबियालाई हराउनै पर्ने सम्म’

कपिलवस्तु । ई साझाकुरा । आज मिति २०८० फाल्गुण १७ गते बिहिबार । आज दिनभर देशमा विभिन्न घटना परिघटना तथा समसामयिक विषयवस्तु बाहिर आएका छन् । यस मध्ये साझा कुराले पाठकहरुका लागि आज दिनभरका मुख्य मुख्य दश खबरलाई प्राथामिकताका साथ यो पृष्ठमा समावेश गरेको छ ।

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष नछाड्ने प्रचण्डको संकेत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृष्णप्रसाद सिटौला नै आए राष्ट्रिय सभा अध्यक्षमा सकारात्मक रुपमा सोच्ने वचन सत्ता साझेदार नेपाली कांग्रेसलाई दिएको स्वीकार गरेका छन् । तर अहिले परिस्थिति फेरिएको भन्दै उनले सिटौलालाई समर्थन नगर्ने संकेत गरेका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्षबारे पार्टीले लिखित निर्णय नगरिसकेको बताए । तर स्थायी समिति बैठकमा अत्यधिक सदस्यले राष्ट्रियसभा अध्यक्ष छोड्न हुँदैन भन्ने सुझाव दिएको प्रचण्डले बताए । कांग्रेस नेता सिटौलालाई वचन दिनुभएको थियो होइन र भन्ने प्रश्नमा उनले त्यो बेला परिस्थिति भिन्न रहेको बताए ।

राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सांसद यही फागुन २० गतेदेखि बिदा हुँदै


फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण
बुधबार राति पौने ८ बजे काठमाडौं महानगरपालिकाको सुन्धारामा नगर प्रहरीको एक जत्थाले फुटपाथ व्यवसायीमाथि एक्कासि भौतिक आक्रमण ग¥यो । फुटपाथ व्यवसायीका अनुसार करिब ५० नगर प्रहरीको हुल लिएर आएका नगर उपरीक्षक मनोज लामिछानेको टोलीले भटाभट लाठी चार्ज गर्न थाल्यो । एकछिन त फुटपाथ व्यवसायीले के भएको हो भन्ने नै भेउ पाएनन् । बुधबार राति नगर प्रहरीको आक्रमणमा परी ७ जना फुटपाथ व्यवसायी घाइते भए । नगर प्रहरीले पनि ५ प्रहरी घाइते भएको जनाएको छ ।


आयोजक नेपाल र भारतको नजर उपाधिमा
शुक्रबारबाट एन्फा कम्प्लेक्स सातदोबाटोमामा सुरु हुने यू–१६ महिला साफ च्याम्पियनसिप फुटबलमा आयोजक नेपाल र भारतको नजर उपाधिमा छ । बंगलादेशले हरेक खेलमा राम्रो गर्दै फाइनल खेल्न चाहेको छ भने एक महिनाको प्रशिक्षण गरेर काठमाडौं आएको भुटान आफ्नो उत्कृष्ट प्रदर्शन दिने लक्ष्यमा छ । खेलअघिको प्रिम्याच प्रेस कम्फ्रेन्समा सहभागी चारै टिमका प्रशिक्षक र कप्तानले आ–आफ्नो लक्ष्य र योजना सुनाएका हुन् । घरेलु मैदानमै उपाधि जित्ने लक्ष्य रहेको भन्दै नेपालका प्रशिक्षक चक्र तामाङले सिनियर टिमले साउदी अरबमा गरेको प्रदर्शनले युवा टिमको मनोबल बढेको बताए ।


हाजिर जमानीमा रिहा भए लघुवित्तका ऋणीहरु
संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पु¥याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

फाइनल खेल्ने आशा कायमै राख्न नेपालले नामिबियालाई हराउनै पर्ने
त्रिवि क्रिकेट मैदानमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजमा भोलि शुक्रबार नामिबियासँग पराजित भए नेपालले फाइनल खेल्न नपाउने समीकरण बनेको छ । नेदरल्यान्ड्स नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै ४ अंकका साथ शीर्षस्थानमा छ । नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


घोराहीमा १ करोड ८० लाख लगानीमा २८ वटा कृत्रिम जलाशय निर्माण
१७ फागुन, दाङ । घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण गरेको छ । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख रुपैयाँ लागतमा उक्त जलाशय निर्माण गरिएको हो ।
‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म २८ वटा जलाशय निर्माण भइसकेका छन् । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ । घोराही उपमहानगरपालिका–१७, कर्जाहीमा रहेको कृत्रिम जलाशयका कारण सो क्षेत्रमा पानीको समस्या हटेको किसान पूर्णबहादुर चौधरीले बताए । जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी पनि भइरहेको उनको भनाइ छ ।

पक्राउ परेका लघुवित्तका ऋणीहरूलाई रिहा गर्न एमालेको माग
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लघुवित्तका ऋणीहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।
उनले भनिन्, ‘उनीहरुको माग भनेको निःशर्त रुपमा उनीहरुलाई रिहा गरिनुपर्छ भन्ने हो । लघुवित्तका ऋणीका आफ्नै वार्ताका कुरा छन् । यो सरकारले समयमा सम्बोधन नगर्दा अरु पनि थप दुर्घटना हुन सक्छन् ।’
उनले काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनेपछि १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भएको अवस्थालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताइन् ।
‘धेरै दिनदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका लघुवित्तका ऋणीहरु आन्दोलन गर्दैगर्दा सरकारले कुनै कुरा नसुनिसकेपछि यही १४ गते संसद भवनको परिसरमै छिरेर आन्दोलन गर्न बाध्य भए ।’ उनले भनिन् ।

दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले खोप नलगाएको पुष्टि
नेपालमा दादुरा पहिचान भएका आधाभन्दा बढी बालबालिकाले दादुरा–रुबेला खोप नलगाएको पाइएको छ । दादुरा पुष्टि भएका ५५ प्रतिशत बालबालिकाले दादुरा–रुबेला खोप नलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । यो तथ्यांक २०७९ साल मङ्सिर ०३ गते देखि २०८० साल मङ्सिर १४ गते सम्मको रहेको मन्त्रालयको भनाई छ ।
यसमा शंकास्पद बिरामीको नमुना संकलनको प्रयोगशाला परीक्षणबाट १ हजार ३४९ जना दादुरा रोगका बिरामी भेटिएका थिए । ती मध्ये १ जनाको मृत्यु भएको थियो । दादुरा पुष्टि भएका मध्ये ७४ प्रतिशत ९ महिना देखि १५ वर्ष मुनिका र बाँकी ९ महिनादेखि ५ वर्ष मुनिका थिए । प्रायः जसो दादुरा रोगको महामारी भारतसँग सीमा जोडिएका तराईका जिल्ला र काठमाडौँ जिल्लामा देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।
हाल देशभर दादुरा–रुबेलाको खोप अभियान सञ्चालन छ । सो अभियान आगामी चैत्र ७ गतेसम्म जारी रहनेछ । यस अभियानमा देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप लगाइने छ ।

फाइल तस्बिर

बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी
बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । अन्य कुनै उपाय नभएपछि तारजाली लगाउने योजना अगाडि सारेको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो । राप्ती सोनारी–९ मा रहेको झिझरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा चार सय ७५ मिटर तारबार लगाइने वडाध्यक्ष थारुको भनाइ छ ।


रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र रिङ्ग प्रयोग नगर्न एफडीएको चेतावनी
छाला नछेडिकन चिकित्सा उद्देश्यका लागि रगतमा चिनीको मात्रा नाप्ने दाबी गर्ने स्मार्ट घडी र हातमा लगाउने रिङ्गहरू खतरनाक हुनसक्ने अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बताएको छ । यी उपकरणहरूबाट टाढै रहन एफडीएले सुझाव दिएको न्युयोर्क टाइम्सले लेखेको छ । छाला नछेडिकन रगतमा ग्लुकोजको मात्रा नाप्ने कुनै पनि उपकरणलाई आधिकारिकता नदिएको एफडीएले बताएको न्युयोर्क टाइम्सले जनाएको छ । ग्लुकोज निगरानी प्रणालीले जसरी यी उपकरणले रगतमा चिनीको मात्रा सिधै नाप्न नसक्ने खबरमा उल्लेख छ । मधुमेह रोग भएका व्यक्तिहरूको शरीरले पर्याप्त हर्माेन इन्सुलिन नबनाउँदा वा शरीर इन्सुलिन प्रतिरोधी नहुँदा उनीहरूले रगतमा चिनीको मात्रालाई प्रभावकारी रूपमा नियमन गर्न सक्दैनन् । यस्तो अवस्थामा उनीहरूले छाडा छेडेरै रगतमा चिनीको मात्रा हेर्नुपर्ने हुन्छ । अस्वीकृत स्मार्ट घडी र रिङ्गको प्रयोग गर्दा गलत परिणाम दिने र गम्भीर अवस्था निम्त्याउन सक्ने अमेरिकी मधुमेह सङ्घका डाक्टर रोबर्ट गाब्बेले बताउनुभएको छ । यसले गर्दा बिरामीले औषधिको गलत मात्र प्रयोग गरेर रगतमा चिनीको स्तर खतरनाक हुन सक्ने र बिरामी कोमामा जान सक्ने वा ज्यान पनि जान सक्ने खबरमा उल्लेख छ ।

प्रतिक्रिया

खबर सबै