

लुम्बिनीमा उखु उत्पादनमा बृद्धी, उखु क्रसिङको लक्ष्य पनि बढ्यो





बुटवल । लुम्बिनी प्रदेशमा गत वर्षको तुलनामा उखु उत्पादन वृद्धि भएको छ । उखु उत्पादन बढेसँगै प्रदेशमा रहेका चिनी मिलले पनि आफ्नो लक्ष्य बढाएका छन् ।
लुम्बिनी प्रदेशमा रहेका ३ वटा चिनी मिलले गत वर्षको तुलनामा बढी उखु क्रसिङ गर्ने लक्ष्य राखेका छन् । विगतमा कतिपय किसानले समयमै भुक्तानी नपाइने भन्दै उखु खेती गर्न छाड्दै आएका थिए । भुक्तानीको समस्या हल भएपछि फेरि किसानहरू उखु खेतीतिर फर्कन थालेका हुन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नवलपरासी र कपिलवस्तुमा चिनी मिललाई लक्षित गरेर उखु उत्पादन गरिन्छ । अन्य जिल्लामा उत्पादित उखु भने प्रायः खुदो र जुसका लागि प्रयोग हुँदै आएको छ ।
कपिलवस्तुमा रहेको महालक्ष्मी सुगर मिल सर्लाही जिल्लामा सरेपछि कपिलवस्तुका किसानले नवलपरासीस्थित चिनी मिललाई उखु बिक्री गर्दै आएका छन् । नवलपरासीमा ३ वटा मिलले अहिले उखु क्रसिङ गरिरहेका छन् ।
ती चिनी मिललाई जिल्लामा उत्पादित उखुले मात्रै पुग्दैन । त्यसैले कपिलवस्तु लगायत आसपासका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रबाट समेत उनीहरूले उखु खरिद गर्दै आएका छन् ।
उखु किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले नवलपरासीमा गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन भएकोमा अहिले बढेर २५ लाख क्विन्टल पुगेको रातोपाटीलाई बताए । यस्तै कपिलवस्तुमा ४ लाख क्विन्टल उखु उत्पादन भएको छ ।
उखुको पकेट क्षेत्र नवलपरासीको जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिका हो । प्रतापपुर गाउँपालिका– ३, सेमरीका रामप्रसाद जोशीले उखुको रकम समयमै भुक्तानी नहुँदा केरा खेती गर्दै आएका थिए । तर यो वर्ष उनले साढे ३ बिघा क्षेत्रफलमा उखु लगाएका छन् ।
‘केरा खेतीमा धेरै जोखिम हुन्छ । किनकि हावाहुरीले केराको बोट ढाल्ने समस्या हुन्छ,’ उनले भने, ‘उखुमा भुक्तानीको मात्र समस्या हो, त्यो समाधान हुँदा केरा खेतीभन्दा उखु नै सजिलो हो ।’ उनले अहिले १५ सय क्विन्टल उखु उत्पादन भएको सुनाए । उनले लुम्बिनी सुगर मिल र बागमती खाँडसरी चिनी मिललाई उखु बिक्री गरेको बताए । पालिका अध्यक्ष यादवले जिल्लाका किसानहरू फेरि उखु खेतीतर्फ आकर्षित भएको बताए ।
मिलहरूको अवस्था के छ ?
नवलपरासीको लुम्बिनी सुगर मिलले मङ्सिर २२ गतेदेखि उखु क्रसिङ सुरु गरेको हो । मिलले हालसम्म ६ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । जबकि गत वर्ष ३ लाख ४५ हजार क्विन्टल उखु क्रसिङ गरेको मिलका महाप्रबन्धक केशव पराजुलीले बताए । उनले फागुन अन्तिमसम्म ८ लाख क्विन्टल उखु क्रसिङ गर्ने योजना रहेको बताए ।
यस्तै बागमती खाँडसारी चिनी मिलले ९ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । गत वर्ष १० लाख ८० हजार क्विन्टल उखु क्रसिङ गरेको मिलले यो सिजनमा ११ लाख क्विन्टल पुर्याउने लक्ष्य राखेको मिलको व्यवस्थापक गोपाल सापकोटाले बताए ।
यस्तै ईन्द्रा सुगर मिलले गर्त वर्ष ६ लाख क्विन्टल उखु क्रसिङ गरेकोमा अहिले ८ लाख क्विन्टल क्रसिङको लक्ष्य राखेको छ । उक्त मिलले हालसम्म ७ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
पछिल्ला वर्ष चिनी मिलहरूले रकम समयमा दिन थालेपछि फेरि किसानहरू उखु खेतीतर्फ आकर्षित हुन थाल्नु आर्थिक क्षेत्रका लागि राम्रो सन्देश रहेको लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक गोपाल प्रसाद पाण्डेयले बताए । उनले तराईका किसानले उखु खेतीबाट राम्रो आम्दानी गर्न सक्ने बताए । उन्नत जातको उखु लगाउँदा एक बिघा क्षेत्रफलमा ६ सय क्विन्टल उखु उत्पादन हुने कृषि क्षेत्रका जानकार बताउँछन् ।


खबर सबै
-
नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
-
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश
-
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न











प्रतिक्रिया