कपिलवस्तुका इँटा उद्योगले घटाए उत्पादन, सिजनमै छैन उत्साह


जितपुर ।
व्यवसायिक क्षेत्रमा छाएको आर्थिक मन्दि र तरलताका कारण यसवर्ष माघ मध्य समयमा आइपुग्दा पनि कपिलवस्तुसहित लुम्बिनी प्रदेशका अधिकाशं इँटा उद्योग सुनसान जस्तै छन् । अघिल्ला वर्ष यतिबेला इँटा उद्योगमा कामदारलाई इँटा बनाउन चटारो हुने गर्दथ्यो । उद्योगीले आवश्यक कच्चा पदार्थ जुटाउन लाग्थे भने कामदार खोज्ने, माटो, भस्कट, कोइला, दाउरा, डिजेललगायत इन्धन र आर्थिक कारोबारका लागि बैंक प्रक्रिया अगाडि बढाउनेलगायतका व्यवस्थापन मिलाउने चटारो हुन्थ्यो । तर यस वर्ष त्यस्तै कतै देखिदैन ।
गाउँघरमा कतै पनि भौतिक संरचना निर्माणका काम भएका पाइदैनन् । कामदारले काम नपाउँदा बेरोजगार जस्तै भएका छन् । उद्योगी फुर्सदिला बनेका छन् । रूपन्देही, कपिलवस्तु र नवलपरासीका सयौं इँटा व्यवसायी उत्पादनको मुख्य सिजनमा निराश भएर बस्नुको मुख्य कारण भने आर्थिक शिथिलताका कारण इँटाको बजार माग नहुनु नै हो । बजार माग नभएपछि उत्पादन गर्नुको कुनै अर्थ नरहने र विगतमा उत्पादन भएको इँटा नै खपत नभएकाले प्रशस्त मौज्दात रहेको व्यवसायी बताउँछन् । इँटाको बजार मागमा ठूलो गिरावट आएपछि यहाँका इँटा उद्योग आर्थिक संकटमा पर्न थालेका छन् ।
लुम्बिनी इँटा व्यवसायी संघका अनुसार नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लामा सञ्चालित इँटा उद्योगको संख्या एक सयभन्दा धेरै छ । कपिलवस्तुमा मात्रै दर्ता भएका ८६ इँटा उद्योग छन् । तर अहिले अधिकाशं उद्योगले उत्पदन सुरु पनि गर्न सकेका छैनन् । कपिलवस्तु स्थित सरस्वती इटा उद्योगका संचालक भरत कार्कीका अनुसार कपिलवस्तुमा गत वर्षकै मौज्दात धेरै रहेका कारण यस वर्ष इटा उद्योग सुनसान छन् । इँटाको व्यापारमा भारी गिरावट समेत आएको उनले बताए । व्यवसायिहरु आर्थिक मन्दीका कराण नयाँ उत्पादन थप्ने अवस्थामा नरहेको उनको भनाई छ । अवस्था नाजुक छ, उनले भने ‘गत वर्षको तुलनामा अहिले त झण्डै ४० प्रतिशत उत्पादनमा कमी आएको छ ।’
उता रूपन्देहीमा रहेका चार दर्जनभन्दा धेरै इँटा उद्योगमध्ये तीन उद्योगले भर्खर भट्टी (काँचो इँटा पोल्ने ठाउँ) मा आगो सल्काएका छन् । ‘यो समय हाम्रा लागि इँटा उत्पादनमा अति व्यस्त हुनुपर्ने बेला । तर यस वर्ष सबै व्यवसायी निराश भएर बस्नुपरेको छ,’ लुम्बिनी इँटा व्यवसायी संघका अध्यक्ष अजय गुप्ताले भने, ‘यस पटक मुस्किलले १०÷१२ वटाबाहेक अन्य उद्योग सञ्चालन गर्ने मनसायमा व्यवसायी छैनन् ।’ सञ्चालन गरेका उद्योगले पनि ५० प्रतिशतभन्दा बढी उत्पादन नगर्ने उनले बताए ।
रूपन्देहीमा मात्रै सञ्चालनमा रहेका उद्योगको संख्या ५२ छ । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी छ । एउटा उद्योग सञ्चालनका लागि सिजनमा कर्मचारीसहित ६० देखि १ सयको हाराहारी संख्यामा जनशक्तिको आवश्यकता पर्छ । ‘आर्थिक शिथिलताले बजार चलायमान नभएर निर्माण कार्य बढ्न नसक्दा इँटाको माग भएको छैन,’ गुप्ताले भने, ‘जसका कारण समग्र व्यवसायीको आर्थिक चक्र नै प्रभावित बनेको छ । व्यवसायी बैंकको ब्याज तिर्न नसकेर धराशायी हुने अवस्थामा पुग्न थालेका छन् ।’
व्यवसायीका अनुसार उद्योगमा मात्रै गत वर्षकै करोडौँको संख्यामा इँटा बिक्री नभएर मौज्दात रहेको बताउँछन् । अहिलेको मौजदातले नै जिल्लाका लागि आवश्यक माग पुर्ति गर्न सक्छ । गत वर्षकै मौजदात रहेका कारण यस वर्ष व्यसायीले भट्टामा इटा पोल्ने कुनै सुरसार नै गरेका छैनन् । केही उद्योगले सामान्य भट्टा चलाइरहेका छन् । उद्यागमा कामदार न्यून संख्यामा उपस्थित छन् ।
सरकारले निर्माण व्यवसायीको रकम झुक्तानी नगरेका कारण बित्री भएको इँटाको रकम पनि असुल हुन नसकेको र यस्तो अवस्थामा मूल्य अभिवृद्धि करलगायतका दस्तुर बुझाउन नसकेको गुनासो व्यवसायीको छ । प्रत्येक उद्योगको ५ देखि ३५ लाख रुपैयाँसम्म भुक्तानी पाउन बाँकी रहेको उनीहरूको दाबी छ ।
सरकारी विकास निर्माणका कार्य सुस्ताएको र निजी क्षेत्रका आर्थिक गतिविधि सुस्त हुँदा इँटाको माग लगभग शून्य अवस्थामा रहेको संघका महासचिव तथा व्यवसायी दीपक पौडेलले बताए । ‘मौज्दात इँटा बैंकहरूलाई ब्याज तिर्नुपर्ने तनाव र बैंकको दबाबको कारण सस्तोमै बेच्नुपरिरहेको छ,’ पौडेलले भने, ‘अहिलेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न नसकेर रूपन्देहीमा ८÷१० वटा उद्योग लिलामीमा चढेका छन् ।’
बैंकको ब्याज दर बढ्नु, ऋणको ब्याज तथा किस्ता भुक्तानीका लागि बैंकले कुनै सहुलियत नदिएर कडाइका साथ ताकेता गर्नु, कच्चापदार्थ माटो, भस्कट, इन्धनका रूपमा प्रयोग हुने कोइला, डिजलको मूल्य बढ्नु, ढुवानी भाडा दोब्बर हुनु र समयमै कर तिर्न नसक्दा हर्जना खप्टिँदै जानाले व्यवसाय धराशायी अवस्थामा पुगेको व्यवसायीको भनाइ छ ।
अहिलेको अवस्थामा सरकारले मूल्य अभिवृद्धि करमा लाग्ने हर्जाना तथा स्थानीय तहहरूले बढाएको विभिन्न कर हटाइदिनुपर्ने नेपाल इँटा उद्योग व्यवसायी महासंघका सल्लाहकार हरिप्रसाद अधिकारीले बताए । प्रत्येक वस्तुको बिमा हुने गरे पनि काँचो इँटाको बिमा गर्नेतर्फ सरकारले बेवास्ता गर्दा बर्सेनि करोडौं रुपैयाँको नोक्सानी व्यवसायीले बेहोर्नुपरेको उनले जनाए । स्थानीय इँटा व्यवसायीको संरक्षणका लागि योजना निर्माणमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा व्यवसायी सुनिल आश्वानीको जोड छ ।

प्रतिक्रिया

खबर सबै