सवारीको गति नियन्त्रण गर्ने रुपन्देहीमा राडार गन
रुपन्देही : रुपन्देहीका प्रमुख मार्गमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘राडार गन’ मार्फत सवारी साधनको गति मापन र कारबाही सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानमा ‘राडार गन’ मार्फत गति जाँच थालिएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी गति परीक्षण गरेर तीव्र गतिमा सवारी साधन चलाउनेलाई ठाउँका ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जिल्लाका विभिन्न स्थानमा आइतबारदेखि पुनः गति जाँच सुरु गरिएको जनाए । उनका अनुसार आइतबार पहिलो दिन तीव्र गतिमा गुडाइएका कार र मोटरसाइकल गरी ३२ र सोमबार ३५ वटा सवारी कारबाहीमा परेका छन् ।
‘जाडो याम सुरु भइसक्यो, साँझ–बिहान हुस्सुले सवारीलाई गति तय गर्न कठिन हुन्छ । यस्तोबेला तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ’, उनले भने, ‘तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न लागिपरेका छौं ।’
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अभियान नै चलाएको बताउँदै यदि तीव्र गतिमा सवारी चलाएको पाइए ठाउँका ठाउँ कारबाही गरिने विष्टले बताए । ‘सवारी कति स्पिडमा छ भन्ने ‘राडार गन’ले जानकारी दिन्छ’, उनले भने, ‘तोकिएभन्दा बढी गतिमा चलाएको पायौं भने तुरुन्तै कारबाही गर्छौं ।’ उनले तीव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेको बताए । यस्ता दुर्घटनामा कैयौं नागरिकको ज्यान जाने गरेको छ ।
‘रुपन्देहीका विभिन्न सडक खण्डमा भइरहेको सवारी दुर्घटनाका विभिन्न कारणमध्ये तीव्र गति मुख्य हो’, विष्टले भने, ‘हाम्रो अनुसन्धानबाट करिब ७० प्रतिशत सवारी दुर्घटना तीव्र गतिकै कारण हुने गरेको छ । यसलाई न्यूनीकरण गर्न हामी लागिपरेका छौं ।’ विष्टले सवारी दुर्घटना न्यूनीकरण गर्न ‘राडार गन’ सहयोगी हुने विश्वास व्यक्त गरे ।
‘अहिले हामीले ‘राडार गन’ मार्फत सवारीको गति मापन गरिरहेका छौं, तीव्र गतिमा सवारी चलाउनेलाई धमाधम कारबाही गरेका छौं । यसबाट धेरैजनालाई सचेतना फैलिएको छ । दुर्घटना न्यूनीकरण हुने हाम्रो अपेक्षा छ,’ उनले भने । उनले सवारी तोकिएको भन्दा बढी गतिमा नचलाउन सबैलाई आग्रह गरे ।
प्रतिक्रिया