१० वर्षपछि विश्वकपमा ‘नेपाल’

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । यससँगै नेपाली क्रिकेटले एउटा ठूलो सपना पनि पुरा गरेको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट भयो । यो भन्दा खुसीको कुरा के हुन सक्छ ?

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यस पछिका प्रयासहरु असफल जस्तै बनेका थिए । तर यसपटक नेपाली क्रिकेटले नयाँ खुसी दिएको छ । नेपाली खेल समर्थकहरुलाई ।

युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे । खेलाडीले मात्रै यो खुसी साटेनन् । मूलपानी मैदान भित्र र बाहिर खेल हेर्न पुगेका नेपाली दर्शकहरुले पनि उत्तिकै खुसी साटे ।

युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट मात्रै गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भयो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।
विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।

मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री मात्र होइन अहिले नेपाली क्रिकेट टोलीलाई स्वदेश तथा विदेशमा रहेका आम नेपालीहरुले बधाई दिइरहेका छन् । एक पटक फेरी नेपाल क्रिकेटका माध्यमबाट विश्वमा चिनिने भएको छ । नेपाली क्रिकेटको एक पछि अर्काे सफलताले सिँगो राष्ट नै विश्वमाझ परिचित भएको छ । एउटा गौरव बढाएको छ ।

शुक्रबार नेपालले युएईसँग सेमिफाइनल खेलेको थियो । यो जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ । ओमान भने शुक्रबार नै खेलिएको सेमीफाइनलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

आउँदो वर्षको जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुने अब दुई टोलीको टुंगो लाग्न बाँकी छ । उक्त विश्वकपमा २० टोलीको सहभागिता रहने छ । हालसम्म १८ टोली छनोट भइसकेका छन् । अब अफ्रिकी क्षेत्रबाट दुई राष्ट्र छानिने छन् । नेपालले दोस्रो पटक टी—२० विश्वकप खेल्ने अवसर पाएको छ ।

पहिले ब्याटिङ गरेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी–२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी–२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् । टी–२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी–२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी–२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् । आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सन् २०२४ को विश्वकपमा नेपाल छनोट भएको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो । नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको थियो । यो खेलका १२ औँ खेलाडी अथवा दर्शकले नेपाललाई विश्वकपमा पुगेको आफ्नै आँखाले देखे । नेपाल क्रिकेट संघ क्यानले दर्शकका लागि स्थान नभएको भन्दै ३५ सय टिकटमात्र बेचेको थियो । अन्य दर्शकलाई घरमै बसेर टेलिभिजन हेर्न भनेको थियो । तर हजारौँ दर्शक पुगे मूलपानी र नेपाल विश्वकप पुग्दाका साक्षी बने । मुलपानी मैदान वरपरका कुनै घरका छत यो खेल हेर्न खाली थिएनन् । दर्शकले भरिभराउ थिए ।

यसपटक नेपाली क्रिकेटले सारा नेपालीहरुलाई एउटा अर्काे खुसी दिलाएको छ । बधाई छ टिम नेपाल अनि बधाई छ हामी सबै नेपालीहरुलाई । आगामी यात्राको अथाह शुभकामना पनि क्रिकेट टिमलाई ।

प्रतिक्रिया

खबर सबै