आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु

 नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज शनिबार काग तिहार मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक शुक्रबारदेखि सुरु भएको हो ।

कार्तिक कृष्ण त्रयोदशी तिथि दुई दिन परेकाले शुक्रबार साँझदेखि नै यमदीपदान सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्रयोदशी तिथिमा सूर्योदय भएका दिन काग तिहार मनाउने धार्मिक परम्पराअनुसार आज काग तिहार मनाउन लागिएको हो ।

काग तिहारका दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने चलन छ । कागलाई मीठा खानेकुरा दिएर पूजा गर्दा यमराजसम्म राम्रो सन्देश पुग्ने धार्मिक विश्वास रहेको छ ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस दिन घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने र सम्मानपूर्वक पूजा गर्ने परम्परा रहिआएको छ ।

आज धन्वन्तरी जयन्ती पनि मनाइँदै छ । पौराणिक मान्यताअनुसार धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवताका रूपमा पूजा गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोरुपूजा, गोवर्धन पूजा र म्हपूजा मनाइनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइनेछ । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै