

सबैभन्दा बढी रक्तदान हुने बाणगंगाका नागरिकलाई छैन ‘रगत’ निःशूल्क





नबराज बेल्वासे, कपिलवस्तु । भनिन्छ, रक्तदान जिवनदान हो तर त्यही जीवन बचाउँन चाहिने रगतका लागि कपिलवस्तुको वाणगंगाका स्थानीयले रगतको रकम तिर्न बाध्य छन्। नगरपालिकाको बेवास्थाका कारण यहाँका नागरिकहरु रगतको पैसा तिर्न बाध्य छन्। तर त्यही रगतका लागि कपिलवस्तुका अन्य पाँच पालिकाका नागरिक भने निशुल्क पाउँछन् ।
जीवन र मरणको अवस्थामा पुग्ने यहाँका बिरामी अस्पतालको शैयामा छटपटाइरहेका बेला कपिलवस्तुमा बाणगंगा नगरपालिकाको स्थायी बासिन्दा भएकै कारण रगत निःशुल्क पाउन बाट बञ्चित हुनुपर्ने बाध्यता रहेको पाइएको हो ।
केही दिन अघि रगतका लागि ब्लड बैँक बुटबलमा रगतका लागि ईसाझाकुराकर्मीले बुझ्दा बाणगंगाका नागरिकले रगतको प्रति युनिट ९५० रुपैँया तिर्नुपर्ने बाध्यता रहेको जानकारी प्राप्त भयो । कपिलवस्तुमा पाँच पालिकाका स्थानीयले खपत गर्ने रगतको पैसा सम्बन्धित पालिकाले वार्षिक भुक्तानी गरिदन्छन् । तर बाणगंगासहितका पाँच पालिकाले भने यस विषयमा चासो नै देखाएका छैनन् ।
नागरिकलाई सहज सेवा प्रवाह गर्ने र सुविधा प्रदान गर्ने घोषणाका साथ निर्वाचित भएका जनप्रतिनिधीहरुले पालिकाबाट वार्षिक लाखौ बजेट बेप्रवाह खर्च गरिरहेका बेला जीवनदानका लागि प्रयोगमा आउने रगतमा नागरिकलाई सुविधा दिन चासो दिएका छैनन् ।
कपिलवस्तुका नागरिकहरु जटिल रोगको उपचारका लागि जाने थलो बुटवल हो, भने यहाँ पुगेपछि रगत उपलब्ध गराउने संस्था रक्तसञ्चार केन्द्र बुटवल हो । ब्लड बैँकले रगतको परीक्षण, प्याकेट र पाइपको विभिन्न शिर्षकमा प्रति युनिट ९५० रुपैँया लिने गरेको छ । कपिलवस्तु जिल्लाकै बुद्धिभुमि नगरपालिका, शिवराज नगरपालिका, बिजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाका स्थानीयबासीले भने यहाँबाट रगत नि.शुल्क पाउने गरेका छन् । यहाँका नागरिकले प्रयोग गरेको रगतको रकम पालिकाले वार्षिक भुक्तानी रक्तसञ्चार केन्द्रलाई दिने गरेको छ ।
रक्तसञ्चार केन्द्र बुटवलका प्रमूख राधा शर्मा ज्ञवालीका अनुसार कपिलवस्तुमा पाँच पालिकासँग वार्षिक सम्झौता भएको छ । सोही सम्झौता अनुसार यहाँबाट रगत माग गर्न जानेहरुलाई रक्तसञ्चार केन्द्रले निशुल्क रगत उपलब्ध गराउने गरेको छ । कपिलवस्तुमा वार्षिक सबैभन्दा बढी रक्तदान कार्यक्रम बाणगंगा नगरपालिकामा हुने गर्दछ । बुटवल स्थित रक्तसञ्चार केन्द्रमा समेत यहाँ हुने रक्तदान कार्यक्रम मार्फत नै रगत संकलन हुने गर्दछ । त्यति मात्रै होइन, जिल्लामा अन्य पालिकाको तुलनामा सबैभन्दा बढी रगत खपत पनि बाणगंगाका नागरिकबाट बढी हुने गरेको बताइएको छ । तर यहाँका स्थानीयहरुले रगत निशुल्क पाउनबाट बञ्चित छन् । यस्तो हुनुको सम्पूर्ण कमजोरी बाणगंगा नगरपालिकाको रहेको पाइएको छ । नगरपालिकाका जनप्रतिनिधिको बेवास्ताका कारण यहाँका नागरिकबाट रक्तसञ्चार केन्द्रले रगत बेचिरहेको छ । नगरपालिका र केन्द्रका बिचमा वार्षिक सम्झौता गरी प्रक्रिया सुरु गरे नागरिकहरुले निशुल्क रगत पाउने रक्तसञ्चार केन्द्र बुटवलले बताएको छ । तर यसका लागि यहाँका मेयर चक्रपाणी अर्याल र नगर स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलसँग आग्रह गरेको भए पनि कुनै ठोस प्रतिक्रिया नआएको रक्तसञ्चार केन्द्रकी प्रमूख राधा शर्मा ज्ञवालीले बताइन् ।
कपिलवस्तु जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० को २०८० असार मसान्त सम्म रक्तसञ्चार केन्द्र बुटवलसँग सम्झौता भएका पालिकाहरु विजयनर गाउँपालिका १०२ युनिट, बुद्धभुमि नगरपालिका १४४ युनिट, कपिलवस्तु नगरपालिका ७७ युनिट, कृष्णनगर नगरपालिका २९ युनिट रगत स्थानीयले उपयोग गरेका छन् । यस्तै चालु आर्थिक वर्षको भदौ महिनामा यहाँका सम्झौता भएका पालिकाहरुले जम्माजम्मी १४९ युनिट रगत एक महिनामा उपभोग गरेको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०७९÷८०को एक वर्षमा कपिलवस्तु जिल्लामा विभिन्न समयमा भएका रक्तदान कार्यक्रमबाट बुटवल रक्तसञ्चार केन्द्रले ९६१ युनिट रगत संकलन गरेको छ । यहाँका कपिलवस्तु जेसिजबाट ७७ युनिट, सामाजिक विकास मञ्च कपिलवस्तुबाट ६० युनिट, थारु कल्याणकारीणी बाणगंगाबाट ४४ युनिट, रोटरी क्लव अफ कपिलवस्तुबाट ४९ युनिट, उद्योग व्यापार संघ कपिलवस्तुबाट ६० युनिट, राष्ट्रिय स्वास्थ्यकर्मी संघ कपिलवस्तुबाट ३५ युनिट, नेपाल नियमित रक्तदाता संघ कपिलवस्तुबाट २० युनिट, नेपाल किसान ट्याक्टर समिति बाणगंगाबाट ७० युनिट, बाणगंगा नगरपालिकाबाट ७४ युनिट रगत बुटवल रक्तसञ्चार केन्द्रमा गत एक वर्षमा पुगेको छ । यसबाहेक कपिलवस्तुका अन्य विभिन्न संघ संस्थाबाट संकलित रगतको तथ्याङ्क समेत जोड्दा कपिलवस्तुबाट वार्षिक एक हजार युनिट बढी रगत यहाँ पुग्दछ भने रुपन्देहीका अन्य रगत संकलन गर्ने निकायम समेत पुग्ने गरेको छ । तर यहाँ सबैभन्दा बढी रक्तदान हुने पालिकाभित्रका नगारिकलाई पालिकाले रगतमा सुविधा दिन सकेको छैन ।
उता नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले समेत बाणगंगा नगरपालिका सबैभन्दा बढी रक्तदान गर्ने पालिका भए पनि ब्लड बैँकसँग सम्झौता अहिले सम्म नगरेका कारण नागरिक शुल्क तिर्न बाध्य भएको बताए । चौहानका अनुसार नगरपालिकाले बुटवल वा जिल्ला शाखासँग सम्झौता गरे यो समस्या समाधान हुने बताउन्छन् ।
यता बाणगंगा नगरपालिकाले भने रक्तसञ्चार केन्द्र बुटवलसँग यस विषयमा कुरा भएको तर औपचारिक सम्झौता नभएको जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलका अनुसार नगरपालिकाबाट वार्षिक ९ देखि १२ लाख रुपैँया बजेट विनियोजन गर्नुपर्छ । नेपाल रेडक्रस तथा रक्तसञ्चार केन्द्र बुटवलसँग सम्झौता गर्न अनौपचारिक कुरा पहिले देखि भएको भए पनि औपचारिक सम्झौता अहिले सम्म नभएको उनले बताए ।
नगर प्रमूख चक्रपाणी अर्यालले भने बाणगंगा मै रेडक्रसको स्थापना भई कार्यालयमा आवश्यक उपकरण र जनशक्ति समेत तयारी गर्ने गरी काम भइरहेकाले बुटवलमा सम्झौता नगरिएको दाबी गरेका छन् । नगर प्रमूख अर्यालले बुटवलबाट निशुल्क रुपमा नगरबासीलाई रगत उपलब्ध गराउने विषयमा कुरा भएको तर निर्णय नभएको बताए । अर्यालका अनुसार बाणगंगाको रेडक्रसबाट सेवा सुचारु भएसँगै यो समस्या समाधन हुने दाबी छ ।
अहिले अधिकाशं नागरिक उपचारका लागि बुटवलका विभिन्न अस्पतालमा जाने गर्दछन् । जटिल तथा शल्यक्रिया गर्नुपर्ने रोगका बिरामीका लागि बुटवल पुग्ने बिरामीले भने बुटवल रक्तसञ्चार केन्द्र मार्फत रगतको जोहो गर्ने गर्दछन् ।
बाणगंगा नगरपालिकामा लायन्स क्लव अफ कपिलवस्तु, कपिलवस्तु उद्योग वाणिज्य संघ, रोटरी क्लव आफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु, उद्योग व्यापार संघ कपिलवस्तु लगाएतका दर्जन बढी संघ संस्थाहरुले वार्षिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दछन् । सरदरमा यी संस्थाहरुले गर्ने रक्तदान कार्यक्रमबाट एक पटकमा ४० देखि ६० युनिट एक कार्यक्रमबाट रगत संकलन हुने गर्दछ ।
रोटरी क्लव अफ कपिलवस्तुका पूर्व अध्यक्ष माधव भाट क्षेत्रीले संस्थाका तर्फबाट वर्षमा एक पटक रक्तदान कार्यक्रम आयोजना गर्दा ६० देखि ६५ युनिट रगत संकलन हुने गरेको बताए । यसबाहेक रोटरीका सदस्यहरुले यहाँ हुने अन्य रक्तदान कार्यक्रममा समेत रक्तदान गर्ने उनको भनाई छ ।
केही दिन मात्रै रक्तदान सम्पन्न गरेको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले ३७ पोइन्ट रगत संकलन गरेको बताए । उक्त संकलित रगत रक्तसञ्चार केन्द्र बुटवलमा जम्मा गरिएको उनको भनाई छ । उने भने, “यस विषयमा नगरले चासो लिएन भन्न मिल्दैन, रक्त सञ्चार केन्द्रसँग नगरपालिकाका मेयरको एक पटक कुरा भएको हो, त्यौ औपचारिक थिएन ।”
रगतको अभाव नहोस भनी संकलन गरिने रगतमा एकै जिल्लाका केही नागरिक निशुल्क लिँदा केहीले भने रकम तिर्न बाध्य छन् । धेरै नागरिकलाई रगत निशुल्क प्राप्त हुन्छ भन्ने नै थाहा हुँदैन ।
उता जिल्लाको बुद्धभुमि नगरपालिकाले वार्षिक नगरबासीबाट खपत भएको रगतको मूल्य रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउने गरेको छ । नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठका अनुसार बुद्धभुमि नगरपालिकाका स्थानीयहरुबाट रक्तसञ्चार केन्द्र बुटवलबाट जति रगतको उपयोग हुने गर्दछ, सोही बराबरको वार्षिक रकम भुक्तानी नरपालिकाले गर्ने गरेको हो । गत वर्षको चैत महिनबाट बुद्धभुमि नगरपालिकाले रक्तसञ्चार केन्द्र बुटवलसँग सम्झौता गरी कार्यान्वयनमा ल्याएको छ ।
यस्तै जिल्लाको कपिलवस्तु नगरपालिकाले पनि यो कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र सँग सम्झौता गरेको छ । पालिकाका प्रमूख सुदिप पौडेलले यो कार्यक्रम अत्यन्तै राम्रो रहेको र यसका लागि सबै पालिकाले सम्झौता गर्दा राम्रो हुने बताए । उनले आफ्नो पालिकाले गत वैशाख देखि कार्यक्रम सम्झौता गरिएको बताए । नगरपालिको सम्झौता पश्चात कपिलवस्तु नगरपालिकाबाट रुपन्देहीका विभिन्न अस्पतालमा उपचारका लागि जाने बिरामीेले रगत आवश्यक परेमा रक्तसञ्चार केन्द्रबाट आफ्नो नागरिकताको प्रतिलिपि दिएपछि निशुल्क रगत पाउने र उक्त रकम पालिकाले केन्द्रलाई भुक्तानी दिने गरी सम्झौता रहेको जानकारी दिएका छन् ।
प्रदेश सरकारद्धारा सञ्चालित अस्पतालहरुले निशुल्क रगत दिने भएपनि अन्य अस्पतालमा उपचाररत बिरामीले रगतको मुल्य तिर्न नसक्दा पालिकाले ल्याएका यी कार्यक्रम राम्रो मानिएको भए पनि कपिलवस्तुमा केही पालिका मात्रै नगरबासीको स्वास्थ्यप्रति गम्भिर बनेका छन् । जिल्लामा अझै बाणगंगा नगरपालिकासहित, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका र महाराजगञ्ज नगरपालिकाले यो कार्यक्रमका लागि खासै चासो नदेखाएको पाइएको छ । जसका कारण यी पालिकाबाट रगतका लागि रक्तसञ्चार केन्द्रमा पुग्ने स्थानीयले रगतको रकम तिर्ने गरेका छन् ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया