नयाँ बसपार्क बुटवलमा बन्ने भयो स्नानगृहसहितको सुविधासम्पन्न शौचालय

बुटवल । बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ। १ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गरे।

शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उद्देश्यका साथ योजना अगाडि बढाएको बताए।

उनले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोसेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए।

उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिनुपर्ने बताए। बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने उनले बताए।

उनले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताए। नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको उनले बताए।

३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले बताए।

वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने बताए।
आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताए।

प्रतिक्रिया