

फागुन १५ मा सार्वजनिक बिदा दिन मगर संघको माग



रुपन्देही । नेपाल मगर संघले फागुन १५ मा सार्वजनिक बिदा र प्रथम सहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।
संघले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो माग दोहोर्याएको हो । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा संघले सार्वजनिक बिदा माग गर्दै आएको छ ।
संघकी अध्यक्ष बसन्ती साठीघरेले फागुन १५ मा सार्वजनिक बिदा, लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि(सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गरेकी छन् ।
मगर समुदायको आफ्नै मौलिक भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाजमात्रै नभई आफ्नै ऐतिहासिक भूमि र क्षेत्र रहेकाले आफैमा समृद्ध जाति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण यो समुदायको हरेक पक्षमा राज्यस्तरबाटै नकारात्मक प्रहार हुँदै आइरहेको अध्यक्ष साठीघरेले बताइन् ।
लुम्बिनी प्रदेशमा जनजातिमध्ये सबैभन्दा धेरै जनसंख्या मगरको भएकाले प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागू गर्नुपर्ने संघका प्रदेश सदस्य गोपाल चौहानले माग गरे ।
स्थापना दिवसको अवसरमा संघले फागुन १३ गते अपाङ्ग आश्रममा फलफूल तथा खाद्यान्न वितरण र १५ गते भेषभूषाको झाँकीसहित बृहत र्याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाचसहित मूल समारोह गरिने संघका सचिव हेमन्त बुढाथोकीले बताए । संघका उपाध्यक्ष लुमबहादुर सारु मगरले आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको गुनासो गरे ।
२०६८ को जनगणनाअनुसार देशभर मगरको जनसंख्या १९ लाख रहे पनि संघले ३० लाख रहेको दाबी गर्दै आएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया