रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ

रोल्पामा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।

माडी गाउँपालिका–५ का ६९ वर्षीय बुवा प्रथमन बुढालाई कुटपिट गरी हत्या गरेको आरोपमा ३७ वर्षीय नरबहादुर बुढा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरका अनुसार घरमा बुवा–छोरा मात्रै बस्दै आएका थिए।

छोरा नरबहादुरको कुटपिटबाट बुवाको घटनास्थलमै मृत्यु भएको सूचनाका आधारमा पुगेको प्रहरीले आरोपितलाई सोमबार पक्राउ गरेको डिएसपी मगरले बताए।

‘पक्राउ परेका नरबहादुरले पहिले बुवाले मलाई कुटेपछि मैले बुवालाई कुटेको हुँ भन्ने बयान दिएका छन्,’ डिएसपी मगरले भने, ‘आपसी विवादका क्रममा बुवा-छोराका बीचमा सामान्य भनाभनका क्रममा घटना भएको देखिएको छ।’

माघ २९ गते राति ९ बजेतिर छोराले बुवालाई निर्घात कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।

घटनाबारे स्थानीय मनप्रसाद बुढाले फागुन १ गते दिउँसो ३ बजे प्रहरीलाई फोनमार्फत् सूचना दिएपछि प्रहरी घटनास्थल पुगेको थियो।

चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट खटिएको प्रहरीले नरबहादुरलाई पक्राउ गरेको थियो।

पक्राउ परेका नरबहादुरको मानसिक स्थिति ठिक नभएको भन्ने कुरा खुलेको प्रहरीले जानकारी दिएको छ।

नरबहादुरलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको डिएसपी मगरले बताए।

प्रतिक्रिया

खबर सबै