बाणगंगा ७ द्धारा निशुल्क आँखा परिक्षण, ४० जनामा मोतियाविन्दु देखियो

राजेन्द्र खनाल, बनगाइ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा आज आयोजना गरिएको निशुल्क आँखा जाँच शिविरमा ३ सय बढी आँखाका बिरामीले निशुल्क जाँच गराएका छन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ७ ले हरेक वर्ष आयोजना गरिरहेको यो शिविरमा वर्षेनी आखाँका बिरामीहरुको निशुल्क आखाँ जाँच हुने गरेको छ भने मोतियाविन्दुको समस्या भएका बिरामीहरुको निशुल्क शल्यक्रिया समेत हुने गरेको छ ।

यसवर्ष वडाको आयोजनामा संचालन भएको शिविरबाट ३ सय जनाको आँखाको परिक्षण गरिएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । वडा अध्यक्ष गिरीका अनुसार वडा नम्बर ७ मा यसवर्ष मात्रै ४० जना मोतियाविन्दुको समस्या भएका बिरामी फेला परेका छन् । वुटवल लायन्स अस्पताल र रणअम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा बाणगंगा नगरपालिका वडा नम्बर ७ ले बनगाई स्थित जनचेतना आधारभूत विद्यालयमा आयोजना गरेको शिविरमा मोतिया विन्दुको समस्या देखिएका मध्ये २० जनालाई आज नै शल्यक्रियाका लागि बुटवल पठाइएको छ । बाँकी रहेका बिरामीलाई भोली पठाइने तयारी गरिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।

वडा नम्बर ७ ले गत वर्ष पनि यो शिविर आयोजना गरेको थियो । गत वर्ष शिविरमा ४५० जनाको आखाँको जाँच गरिएकोमा ५२ जनामा मोतियाविन्दुको समस्या फेला परेको थियो । जस मध्ये ४५ जनाको वडाले निशुल्क शल्यक्रिया गरीदिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।

यसपटक पनि शिविर प्रभावकारी ढङ्गबाट सम्पन्न भएको भन्दै वडा अध्यक्ष गिरीले वडाका नागरिकहरु अब आँखाको समस्या लिएर बसिरहनुपर्ने दिनको आफूले अन्त्य गर्न चाहेको बताउनुभएको छ ।

प्रतिक्रिया

खबर सबै