


देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : महासचिव पोखरेल



काठमाडौं
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् ।
उनले दलहरुको गठबन्धनले देश बनाउन नसकिने बताए । उनले जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षप हुने बताइ । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरु राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । उनले भने, ‘दुनियाँमा कहीँपनि गठबन्धनले देश बनाएको, दलहरु मिलेर देश बनाएको भन्नेकुरा हामीले सुन्दैनौँ । देश बनाउनका लागि राष्ट्रिय शक्ति चाहिन्छ । गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । आज मुलुकको राजनीतिलाई गठबन्धनतर्फ लाने जुन कोसिस भएको छ । यो राष्ट्र निर्माणको बाटो होइन ।’
उनले थप भनेका छन्, ‘प्राविधिक रुपमा जित हासिल गर्नका लागि गठबन्धन सफल भयो होला तर त्यसका माध्यमबाट राष्ट्र बन्न सक्दैन । राष्ट्र बन्नका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । जति धेरै राजनीतिक दलहरु त्यति धेरै अस्थिरता । जति धेरै राजनीतिक दलहरु त्यति धेरै नीतिगत विचलन । जति धेरै राजनीतिक दलहरु त्यति धेरै वैदेशिक हस्तक्षप । यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो । पीडा हो । यदी हामी राष्ट्र बनाउन चाहान्छौँ भने त्यो अवस्थाबाट मुलुकलाई मुक्त गर्नु जरुरी छ र नेपालमा थोरै, बलिया राष्ट्रिय शक्तिहरुको निर्माण गर्नु जरुरी छ ।’
त्यस्तै उनले असन्तुष्टिहरु बालेन र साम्पाङका रुपमा बेला बखत प्रकट हुने गरेपनि त्यो राज्य सञ्चालकको प्रवृत्ति नभएको उनको भनाइ छ । उनले फेरि भनेका छन्, ‘एक प्रकारले भन्ने हो भने त्यो राजनीतिमा नो भोटको प्रवृत्तिका रुपमा त्यस्ता पात्र, प्रवृत्तिहरु देखा पर्छन् । त्यस अर्थमा राजनीतिक दलहरुले मुलुकलाई सहि प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताहरुले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरु विजेता बनेका छन् तर मुलुकलाई नेतृत्व गर्ने सहि बाटो होइन । र उनीहरु साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनौटको अधिकारको कुरा हो ।’
त्यस्तै महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताए । व्यापारीहरुले आयातमुखि नीति फेरी नआउने ठानेर अस्वभाविक रुपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितीमा ह्रास आएको उनले बताए र
उनले भने, ‘विदेशी मुद्राको सञ्चितीमा यसप्रकारको गिरावटको कारण के हो, सहि प्रकारको नीतिले त्यस्तो भएको हो ? मलाई लाग्दैन । हाम्रा आम नीतिहरु सहि हुँदाहुँदै सञ्चितिमा गिरावट आयो भन्ने कुरा मलाई लाग्दैन । आयातका लागि एलसी स्वीकृत गर्नेकुरा भनेको राष्ट्र बैंकको निगरानी भन्दा बाहिर हुन्छ भन्ने मलाई लाग्दैन । र भन्सार नीतिमा जुन प्रकारको हेरफेर गरिन्छ, त्यो हेरफेरको प्रभाव नै आयातमा अस्वभाविक वृद्धि भयो ।’
उनले थपे, ‘के अर्थमा व्यापारीहरुले लिए त भन्दाखेरी यसप्रकारको आयातमुखि नीति भविष्यमा फेरी प्राप्त हुँदैन भन्ने प्रकारको मान्यता बनाए र उनीहरुले अस्वभाविक ढंगले आयात गर्ने काम गरे । जसका कारणले गर्दाखेरी विदेशी मुद्राको सञ्चितीमा उल्लेख्य ह्रास आयो ।’
त्यस्तै उनले राज्यले हुण्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताए । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे । सरकारले स्रोत नखुलेको लगानी भित्र्याउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया