नीति तथा कार्यक्रम बालुवा चुसेजस्ताे नीरस छ : विष्णु पाैडेल

काठमाण्डाै

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले देशकाे अहिलेकाे समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ ।

आज बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आउँदाे वर्षकाे नीति तथा कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमले देशकाे आजका समस्याहरू चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै सबैभन्दा नालायक, सारहीन, दिशाविहीन, बालुवा चुसेजस्तो नीरस छ । यसमा कुनै दृष्टिकोण छैन । कुनै गन्तव्य छैन । समस्याकाे समाधान दिने यसमा कुनै दृष्टिकोण छैन । समयको अपव्यय मात्रै हो यो ।’

उपाध्यक्ष पौडेलले सरकारले अवलम्बन गरेकाे नीति तथा निर्णयका कारण देशमा भयानक सङ्कट आइपर्न लागेको बताउनुभयो । उहाँले आर्थिक सङ्कटको बारेमा सरकार मौन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकाे अर्थतन्त्र भयानक सङ्कटको नजिक आइपुगेको छ । तर सरकार केही बाेल्दैन । सरकार देशकाे अर्थतन्त्र सबै लयमा छ, ठिकठाक छ भनेजस्तो गरिरहेकाे छ । यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ । सरकार निरन्तरतामा चल्ने । हिजोका राम्रा कामलाई निरन्तरता दिएर सरकार अगाडि बढ्नुपर्ने हो । तर हिजोका राम्रा कामलाई यसले निरन्तरता दिन चाहेको छैन ।’

नीति तथा कार्यक्रमले विगतमा अगाडि बढाइएका राष्ट्रिय गौरवका आयोजनाका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उपाध्यक्ष पाैडेलकाे भनाइ छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनालाई अगाडि बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको उहाँले आरोप लगाउनुभयो । नीति कार्यक्रम भाषिक दृष्टिकोणले पनि कमसल रहेको भन्दै यसले देशलाई कुनै नतिजा दिन नसक्ने उहाँले दाबी गर्नुभयो ।

फरक प्रसङ्गमा उपाध्यक्ष पौडेलले अब गठबन्धनको ओरालो यात्रा सुरु हुने बताउनुभयो । आउँदाे चुनावमा गठबन्धनको पटाक्षप हुने उहाँले बताउनुभयो । आउँदाे चुनावपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

खबर सबै