सुनिलले गराए मछिन्द्रलाई एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व

काठमाडौं

मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ। आइतबार सहिद स्मारक ‘ए’ लिग अन्तर्गत सातौं चरणको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन मछिन्द्रले दोस्रोपटक एएफसी कप छनोटको ढोका खुला गरेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रका लागि सुनिल बलले पहिलो हाफमा गरेको एक मात्रै गोल निर्णायक बनेको थियो।

खेलको २१औं मिनेटमा विशाल राईको फ्रिकिकमा ‘अनमार्क’ रहेका सुनिलले गरेको हेडरले जाली चुमेको थियो। जारी लिगमा सुनिलको यो पाँचौ गोल हो।

छैठौं चरणमा मर्स्याङ्दी मनाङमाथि इन्जुरी समयमा पनि सुनिलले निर्णायक गोल गरेका थिए।

४३औं मिनेटमा बक्स भित्रबाट विशालले गरेको सशक्त प्रहारलाई पुलिसका गोलकिपर सत्रुघन चौधरीले पञ्च गरेको बल ६ यार्डभित्रबाट रक्षक सन्तोष हेमरमले ‘क्लियर’ गर्दा मछिन्द्रले अग्रता दोब्बर पार्न सकेन।

गत सिजनमा लिग उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नहुँदा मछिन्द्रले एएफसी कप छनोट खेल्नबाट बञ्चित भएको थियो। सो सिजन त्रिभुवन आर्मी क्लबले लिग विजेताको रुपमा एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए। आर्मी दोस्रो चरणसम्म पुगेको थियो।

जितसँगै ७ खेलमा १७ अंक जोडेको मछिन्द्र शीर्षस्थानमा उक्लिएको छ। समान खेलबाट १६ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ। पुलिस भने ७ खेलमा ६ अंक जोड्दै १०औं स्थानमा छ।

प्रतिक्रिया

खबर सबै