वासस्थान गुमाएकालाई ५० हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाण्डाै

सरकारले गएकाे तीन दिनयता अविरल वर्षाका कारण वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आज बुधवार सिंहदरबारमा बसेको विपद् व्यवस्थापन प्राधिकरणकाे बैठकमा वासस्थान भत्किएर बिचल्ली भएकाहरूलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । बैठकपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बुधवार मध्याह्नसम्म ५२ जनाको बाढी तथा पहिरोमा परेर ज्यान गएकाे बताउँदै तत्काल राहतका लागि सरकार लागिपर्ने बताउनुभयो ।

उहाँले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गएको तीन दिनमा नेपालले भोग्नुपरेको घटना दुःखद भएको बताउँदै सबै सरोकारवाला निकायहरूलाई तत्काल राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले बाढी, पहिरोले क्षति पुर्‍याएकाे ठाउँमा आफैँ जाने बताउनुभएको कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो ।

बैठकमा तत्काल घटना भएका ठाउँमा विभिन्न टाेली बनाएर तत्काल बास र गाँसको व्यवस्था मिलाउने र क्षतिको विवरण निकालेलगत्तै राहत र उद्धार तथा पुनर्निर्माणका लागि खटिने बताउनुभयो । उहाँले बाढी पहिरोमा जनधनको ठूलो क्षति भएको बताउँदै किसानहरूलाई तत्काल राहतको व्यवस्था गरिने बताउनुभयो ।

कार्यकारी प्रमुख पोखरेलले पीडितको उद्धारका लागि अझै पनि पर्याप्त स्राेत, साधन नभएकाले धेरै क्षति भएको बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै