भारतीय भेरियन्टले खोपले निर्माण गरेको एन्टीबडीलाई छल्न सक्छ, तर खोप पूर्णरुपमा ‘प्रभावहीन’ छैन : अध्ययन

एजेन्सी

कोरोनाविरुद्धको खोपले निर्माण गरेको एन्टीबडीलाई भारतीय भेरियन्ट  B.1.617​ ले ‘केही हदसम्म’ छल्न सफल भएपनि यसको थप प्रभाव भने नरहेको एक अध्ययनले देखाएको छ । बेलायतका अध्ययनकर्ता र इन्डियन सार्स–कोभ२–जेनोमिक कन्सोर्टियाले भेरियन्टको मोलिकुलर अध्ययन गर्दा यस्तो तथ्य पत्ता लगाएको हो ।

E484Q ​ र L452R​ भेरियन्टको म्युटेसनबाट बनेको यस भेरियन्टलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । पिर रिभ्यू गर्न बाँकी biorxiv मा प्रकाशित लेखमा डबल म्युटेन्ट भेरियन्टले E484K ​को तुलनामा मानिसको प्रतिरोधात्मक क्षमतालाई कम छल्ने पाइएको उल्लेख गरिएको छ । ‘हामीले अध्ययनमा एन्टीबडीले भाइरसलाई निष्क्रिय पार्ने क्षमतामा कमी आएको पायौँ तर प्रभावहीन भने पाएनौँ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण भएका केसहरु आएका छन् तर खोपले गम्भीर बिरामी बनाउनुबाट भने रोक्ने गरेको छ,’ इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआइबी) का निर्देशक तथा सो पेपरका लेखकमध्ये एक रहेका डा अनुराग अग्रवालले भने । ‘सबै खोपलाई भेरियन्टले छल्न सक्ने पाइयो, तर अधिकांश केसहरुमा रोगको प्रभाव न्यून रहेको छ,’ उनले थपे ।

अध्ययनकर्ताहरुले प्रयोगशालाको सेटिङमा यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा थप संक्रामक रहेको पनि पत्ता लगाएका छन् । यसमा दुई डोज खोप लगाएकाहरुको तथ्यांक पनि समावेश गरिएको थियो । दिल्लीको एक अस्पतालमा ३३ जना स्वास्थ्यकर्मी संक्रमित हुँदा आधा  B.1.617 भेरिन्यन्टबाट संक्रमित भएको पाइएको थियो ।

‘यो भेरियन्टको प्रभुत्व सामुदाय स्तरमा धेरै फैलिएकोबाट र स्वास्थ्यकर्मीमा पनि यो फैलिएको कुराबाट पनि व्याख्या गर्न सकिन्छ । प्राप्त तथ्यांकले खोप लगाएका व्यक्तिहरुमा पनि यो भेरियन्ट फैलनसक्ने कुरा औँल्याएको छ,’ लेखमा भनिएको छ ।

स्रोत हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

खबर सबै