सङ्क्रमितले भरिए लुम्बिनी प्रदेशका काेराेना अस्पताल

दाङ 

कोरोना भाइरसको सङ्क्रमण दर बढेसँगै दाङसहित लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पताल बिरामीले भरिएका छन् । कोरोना विशेष अस्पताल बिरामीले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको छ ।

दाङको बेलझुण्डी, रुपन्देहीको बुटवल, भैरहवा र बाँकेको नेपालगञ्जमा रहेका कोरोना विशेष अस्पताल सङ्क्रमितले भरिएपछि नयाँ सङ्क्रमितले उपचार पाउन अप्ठ्यारो भएको हो ।

कोरोना विशेष अस्पतालबाहेक दाङको घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा पनि केही बिरामी भर्ना भएका छन् भने नेपालगञ्ज मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, क्रिमसन अस्पताललगायतमा कोरोनाका बिरामीको उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना विशेष अस्पतालमा दुई सय ४१ शय्या (बेड) मात्रै छ । यहाँका विभिन्न निजी अस्पतालले तीन सय ८१ बेड कोरोना सङ्क्रमितका लागि छुट्याएका छन् ।

पछिल्लो तथ्याङ्कअनुसार बुधवार दिउँसोसम्म लुम्बिनी प्रदेशमा ५९ सङ्क्रमित आईसीयूमा, १० जना भेन्टिलेटरमा र साधारण बेडमा ५६ जना लक्षण भएका बिरामी रहेका छन् । बेलझुण्डीमा रहेकाे कोरोना विशेष अस्पतालमा पाँच जना आईसीयूमा र २० जना अक्सिजनसहितको बेडमा रहेको र ती सबै भरिभराउ अवस्थामा छन् ।

भारतबाट भित्रिनेको सङ्ख्या बढेसँगै लुम्बिनी प्रदेशका तीन जिल्लामा सङ्क्रमितको सङ्ख्या उच्च दरमा बढेको हो । दाङ, बाँके र रुपन्देहीमा सङ्क्रमित एक हप्तामै पाँच गुणाले बढेका छन् ।

प्रतिक्रिया