काठमाडौं : नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि आज (शुक्रबार) खेलाडीको अक्सन हुँदैछ ।
अक्सनबाट ७ टोलीले ९८ खेलाडीलाई अनुबन्ध गर्नेछन् । सहभागी ७ टोलीले १४ जनाका दरले खेलाडी टिममा अनुबन्ध गर्ने भएका हुन् ।
आयोजकका अनुसार अक्सनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५८ खेलाडीको सूची उपलब्ध गराएको छ ।
सूचीमा खेलाडीलाई ए, बी र सी ग्रेड गरी वर्गीकरण गरिएको छ । एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीलाई ए, ६५ खेलाडीलाई बी र ५८ खेलाडीलाई सी श्रेणीमा वर्गीकरण गरेको छ ।
खेलाडीको मूल्यका बारे भने औपचारिक रुपमा जानकारी दिइएको छैन । आयोजकले अक्सनकै दौरान सबै विषय प्रष्ट हुने बताएको छ । तर एक टिमले १४ खेलाडीका लागि कम्तिमा १० लाखदेखि बढीमा १५ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।
एन्फाको प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा नेपाल सुपर लिग फुटबल हुँदैछ। पहिलो संस्करणको लिगमा सात फ्रेन्चाइज टिमको सहभागिता रहने छ।
लिगमा विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी फुटबल एफसीले प्रतिस्पर्धा गर्ने छन्। राउन्ड रोबिन लिगको आधारमा हुने लिगमा कुल २५ खेल हुने छन्।
खेलको प्रत्यक्ष प्रशारण एपीवान टेलिभिजनबाट हुने भएको छ । बिहीबार भएको कार्यक्रममा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयांस कार्की र एपीवान टेलिभिजनका निर्देशक सच्चन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एनएसएलका सबै खेल एपीवान टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ।


















प्रतिक्रिया