दान गरेको जग्गा विक्रि, जनप्रतिनिधि नै मिलेको स्थानियको आरोप

सागर पौडेल, कपिलवस्तु

धर्म कमाउने नाममा जग्गा दान गर्ने चलन पछिल्लो समय चल्ने धार्मिक कार्यक्रममा बढ्दो छ । तर रुपन्देहीको कञ्चन गाउँपालिकामा भने दान गरेको जग्गा नै विक्रि भएको पाईएको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर १ स्थित रामनगरमा रहेको मनकामना माता दुर्गा मन्दिरका लागि स्थानिय रामनरेश लोध, ओमबहादुर थापा र केजी पौडेलले संयुक्त दान गरेको ठूलो क्षेत्रफलको जग्गा अहिले भने व्यक्तिले कब्जा गरी विक्रि गरेको रहस्य बाहिर आएको हो । स्थानिय जनप्रतिनिधिको समते संलग्नतामा सो जग्गा अवैधानिक किसिमले विक्रि भएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर पुनले आरोप लगाए ।

वि.सं २०५० साल देखि मन्दिरको रुपमा पुजाआजा हुँदै आएको जो स्थानमा २०६० सालमा मन्दिर स्थापना भएको थियो । सो मन्दिरका लागि दान गरेको जग्गा २०६५ सालमा भने कब्जा गरी विक्रि गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालसुब्बा थापाले बताए ।

जग्गा दान गरेका रामनरेश लोधको जग्गामा मन्दिरको भौतिक संरचना बनेको छ भने थापा र पौडेलले दान गरेको भनिएको जग्गामा अहिले स्थानियले घर बनाएका छन् । झण्डै १३ कट्ठा जग्गा रहेको सो स्थानमा अहिले दुई वटा पक्कि घर बनेका छन भने बाकीँ जग्गा स्थानियले भोगचलन गर्दै आएका छन् । उनीहरुले जग्गा उपभोग गरे वापत साविका गजेडी गा.वि.स को कार्यालयमा सेवा शुल्क रकम पनि तिरेको देखाएका छन् ।

नेपाल सरकारको सुकुमबासी जग्गा रहेको सो स्थानमा जग्गा दान गरेका व्यक्तिको नाम मन्दिरको शिलालेखमा समेत लेखिएको छ । तर जग्गा दान गरेका केजी पौडेल सहितका अन्य जग्गा दाताहरुले एक अर्कालाई दोषारोपण गर्दै आएको अध्यक्ष थापाले बताए ।

उनीहरुले दान गरेको सो जग्गा टीकाराम काउचा नाम गरेका व्यक्तिले विक्रि गरेको देखिएको छ । अहिले भोगचलन गर्दै आएका व्यक्तिहरुले २०६८ साल मंसिर २७ गते सो जग्गा किनेको कागज समेत देखाएका छन् । उनीहरुले सो जग्गा ७१ हजार रुपैँयामा खरिद गरेको कागज देखाएका छन् । सो जग्गाको खरिद विक्रि गर्ने क्रममा साछीको रुपमा जग्गा दाता भनिएका ओमबहादुर सहित चन्द्रबहदुर गुरुङ, बमबहादुर काउचा र टिकाराम काउचा बसेका छन् । त्यस्तै टीकाराम काउचासँग १.६४ क्षेत्रफलको जग्गा २०६८ साल पुष ४ गते रु. २९ हजार ६ सय ९१ रुपैँयामा रामबहादुर भण्डारीले खरिद गरेको कागजातमा उल्लेख छ ।

जग्गादाताहरुकै मिलेमतोमा सो जग्गा विक्रि भएको स्थानियले बताएका छन् । धर्म कमाउने नाममा मन्दिरका लागि दान गरेको जग्गा विक्रि गरी कब्जा गरेको विषयमा अहिले मन्दिर व्यवस्थापन समितिले यो विषयलाई बाहिर ल्याएको छ । समितिले यस विषयमा स्थानिय जनप्रतिनिधिहरुलाई समेत जानकारी गराएका थिए ।

उता वडा अध्यक्ष हरिनाराण थारुले भने जग्गाका विषयमा खास विवाद नभएको भन्दै उनले विवादित बनाइएको बताए । उनले यस विषयमा मन्दिर व्यवस्थापन समितिसँगै सोध्न प्रतिक्रिय दिदैँ आफु उम्कने प्रयास गरे ।

त्यस्तै मन्दिर समितिका संस्थापक अध्यक्ष भुवानी प्रसाद पौडेलसँग बुझ्दा सो जग्गा २०६१÷०६२ सालबाटै हडप्ने प्रयास र खेलहरु चलिरहेको भए पनि आफुले संरक्षण गर्दै राखएको बताए । उनले आफु अमेरिका गएका बेला यहाँ चलखेल गरी जग्गा कारोबार गरी अहिले घर समेत निर्माण भएको बताएका छन् । उता स्थानियहरुले जनप्रतिनिधिहरुको समेत संलग्नता भएको आरोप लगाएका छन् । त्यसतै सो जग्गा विवादको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पुगेको छ । अख्तियारको पत्रानुसार कञ्चन गाउँपालिकालाई विवरण खोली पठाउन आदेश गरेको छ । यता गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले भने अख्यिारलाई आफुले जवाफ पठाइसकेको बताएका छन् । उनका अनुसार सो जग्गा लामो समय देखि टिका काउचाले भोगचलन गर्दै आएको र मन्दिरका लागि २१ हजार रुपैँया काउचाले दिनुपर्ने देखिएको र सोही अनुसारको जवाफ आफुले अख्तियारलाई पठाएको बताए । यता स्थानियले भने मन्दिरको जग्गामाथि जनप्रतिनिधि समेत मिलेर हडप्ने खेलमा लागेको बताउँदै आएका छन् ।

वडा अध्यक्ष हरिनाराण थारु

प्रतिक्रिया

खबर सबै