शम्भु थापालाई इजलासमा सुशील पन्तले दिए सायरीमै जवाफ

काठमाडौं

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ। केही दिनदेखि सरकारी पक्षका वकिलहरूले बहस गरिरहेका छन्।

बहसका क्रममा वकिलहरूले रिट निवेदकका वकिलले पेस गरेका तर्कमा जवाफी तर्कमात्रै गरेका छैनन्। गीत र सायरीका जवाफ पनि फर्काएका छन्।

बुधबार सरकारका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता सुशील पन्तले पनि इजलासमा एउटा हिन्दी सायरी सुनाए: ए फलक के चाँद हमने भी एक चाँद देखा है, तुझमें तो है दाग हमने बेदाग देखा है..

उनले सायरीको अर्थ पनि लगाए- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रक्रियामा दाग देख्नुभयो अनि बेदाग चन्द्रमाजस्तो जनतामा जाने निर्णय गर्नुभयो।

यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा एउटा उर्दु सायरी सुनाएका थिए।

जला है जिस्म जहाँ दिल भी जल गया होगा
कुरेदते हो जो अब राख जुस्तुजू क्या है ।

उनले उक्त सायरीको व्याख्या गर्दै भने ‘जब शरीर नै जल्यो भने दिल जल्छ, सकिन्छ। अब पार्लियामेन्ट मर्‍यो भने, (केही पनि) बाँकी रहँदैन ।’

यसअघि मंगलबार बहस गर्दै महान्यायाधीवक्ता अग्नि खरेलले अहिले कतिपयले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ जस्तै गरेर विघटित प्रतिनिधि सभा नै चाहिने तर्क गरिरहेको बताएका थिए।

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा मंगलबार बहस गर्दै महान्यायाधीवक्ता खरेलले अहिलेको संविधानको संसदीय व्यवस्था पनि पहिलेको जस्तै भएको बताएका थिए।

अहिलेको संविधानमा पहिलाको जस्तो संसदीय व्यवस्था नराखेको बरू सुधारिएको संसद हो भन्ने रिट निवेदकहरूले जिकिर गरेका थिए।

त्यसलाई महान्यान्याधीवक्ताले प्रतिवाद गरे। संविधानमा सुधारिएको संसदको कतै पनि कुरा नगरेको उनले बताए।

‘दुई-दुई वटा संविधान सभाले बनाएको संविधानको कुरा अमिल्दो कुरा भयो भनेर एकजना विद्वानले गीत गाउनुभयो। मलाई त गीत गाउन आउँदैन म बाथरूम सिंगर हो। खास उहाँले गाउनु पर्ने गीतचाहिँ नाइँ मलाई त्यही केटी चाहिन्छ भन्ने हो,’ खरेलले भने।

यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भन्ने गीत सम्झँदै आफ्ना कुरा राखेका थिए।

खरेलले गीतको जवाफ दिएपछि इजलासबाट न्यायाधीशले सोधेका थिए- सायरीको जवाफ नदिने?

प्रतिक्रिया

खबर सबै