

प्रचण्डले शिलान्यास गरेको पुलको ओलीले उद्घाटन गर्ने

दाङ ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीको राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन माघ १२ गते हुने भएको छ । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको उद्घाटन माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिनुभयो ।
झण्डै एक वर्षअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्नुहुने भएको हो । यो पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८ सय ६० मिटर र चौडाइ साढे १० मिटर छ ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मङ्सिर २२ गते पुलको शिलान्यास गर्नुभएको थियो । झण्डै एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइ सक्ने सम्झौता भएको थियो ।
पुल नहुँदा सिसहनियाँ–महदेवा वारि–पारि गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुङ्गा तर्नुपर्थ्यो । राप्ती नदीमा पुल निर्माण भएसँगै यात्रा गर्न सहज भएको स्थानीयले बताएका छन् । पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन् ।
यो पुल पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ । दाङबाट मात्रै नभएर बाहिरी जिल्लाबाट समेत यहाँ पर्यटक आउने गरेका छन् । पहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै झण्डै डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, अहिले पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया