

कपिलवस्तु अस्पतालका मेसु अस्पताल छाडेर निजी क्लिनिकमा बिरामी जाँच्दै




गुनासोको यथार्थता बुझ्न बुधबार बिहान करिब साढे ११ बजेको समयमा सञ्चारकर्मीहरु कपिलवस्तु नगरपालिका वडा नम्बर १ नयाँटोल स्थित बुद्ध क्लिनिकमा पुग्दा मेसु बन्जाडे क्लिनिकमै बिरामीको उपचारमा व्यस्त भेटिए । त्यस अघि बुद्ध क्लिनिकको काउन्टरमा रहेका कर्मचारीले डा. किशोर बन्जाडे क्लिनिकमा बिरामीको उपचारमा रहेको भन्ने जानकारी दिए । सञ्चारकर्मी पुग्दा डा. बन्जाडे र एक महिला स्वास्थ्यकर्मी बिरामीको उपचारमा संलग्न थिए । एक बृद्ध महिलालाई भिडियो एक्सरे गर्नका लागी बेडमा तयार पारिएको थियो । त्यस्तै डा. बन्जाडे आफैले एक बिरामीको जाँच गर्दै थिए । सञ्चारकर्मीहरु नजिकै पुग्दा अक्क न बक्क भएका मेसु बन्जाडेले बिरामीको जाँच गरेको स्थानबाट जुरुक्कै उठे । सञ्चारकर्मीहरु सँग नजिकै आई पुगेका उनले आफु कपिलवस्तु अस्पतालमा बिदा लिएर बुटवल जाने तरखरमा रहेको बताए । “म बिदामा छु, बुटवल जादै छु आज । हिजो देखी निस्किसक्या छु ।” मेसु बन्जाडेले भने । सो पश्चात कपिलवस्तु अस्पतालमा पुगी अस्पतालका व्यवस्थापक रत्नाकर शुक्लालाई मेसु किशोर बन्जाडे साढे ११ बजे निजी क्लिनिकमा भेटिएकोले बिदा लिए नलिएको जानकारी माग्दा आफुले सो बिषयमा बुझनु पर्ने बताए । “माथिल्ला तहका कर्मचारीले बिदा लिएको वा फिल्डमा रहेको हामीलाई तत्कालै थाहा हुदैन ।” व्यवस्थापक शुक्लाले पन्छिने प्रयत्न गर्दै भने । सो पश्चात मेसु बन्जाडेको हाजिरी कपी भएको अस्पतालको स्टोर शाखामा पुग्दा त्यहाँ कार्यरत कर्मचारी योगेन्द्र नाथ चौधरीले डाक्टर बन्जाडेले साउन १४ र १५ गते क्याजुवल बिदा लिएको जनाए । बिदा लिनका लागी बन्जाडेले दिएको निवेदनको बारे बुझ्दा चौधरीले डाक्टर बन्जाडेले फोनमा भने अनुसार हाजिरीकपीमा आफुले दुई दिनको बिदा चढाएको स्पष्ट पारे । “बिदाको लागी कुनै निवेदन छैन । डाक्टर सापले दुई दिनको बिदा चढाई दिनु भनेको आधारमा वहाँको हाजिरीमा दुई दिन बिदा चढाएको हु।” चौधरीले स्पष्ट पारे । अस्पतालका मेसु डाक्टर बन्जाडेले अस्पतालमा बिरामीको लाईन लगाई निजी क्लिनिकमा बिरामी जाँच्ने कार्य गलत भएको कपिलवस्तु नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपीकृष्ण शर्माले बताए । “बिरामीहरु अस्पतालमा कहिले पालो आउछ भनेर लाईनमा छन । मेसु नै मन्त्रालयको निर्देशन बिपरित नियमित जसो निजी क्लिनिकमा बस्नु गलत हो । मन्त्रालयको निर्देशन अटेरी गर्ने मेसुलाई मन्त्रालय वा सम्बन्धित निकायले तत्कालै कारवाही गर्न आवश्यक छ ।” नगर अध्यक्ष शर्माले माग गरे ।
कपिलवस्तु अस्पतालका मेसुले कार्यालय समयमै निजी अस्पतालमा बिरामी जाँच गरेको बिषयमा आफुहरुले प्रारम्भिक जानकारी पाएको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्पष्ट पारे । अस्पतालका मेसुले निजी क्लिनिकमा परिक्षण गर्न पाउने व्यवस्था नरहेको स्पष्ट पार्दै यर्थाथ छानविन गरेर स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार प्रचलित ऐन बमोजिम कारवाही प्रकृया अगाडी बढाईने निमित्त प्रजिअ नेपालीले जानकारी दिए । प्रदेश ५ को स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद कुमार गिरीले कपिलवस्तु अस्पतालका मेसुले विदा लिएको बिषयमा जानकारी नभएको बताए । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु सापले विदा लिने भनेको सुनेको हु तर डा. बन्जाडेले विदा लिएको जानकारी छैन डा. गिरीले भनेका छन् ।

प्रतिक्रिया