व्यवसायीको मनोबल उकास्न लगानीमैत्री वातावरण खोज्दै उद्योग व्यापार संघकाे पाँचौँ वार्षिक साधारण सभामा सम्पन्न

कपिलवस्तु । बजारमा देखिएको सुस्तता, लगानीप्रतिको घट्दो आकर्षण र व्यवसायीले भोगिरहेका अनेकौँ समस्याबीच निजी क्षेत्रको संरक्षण र व्यावसायिक वातावरण सुधारको आवाज उठेको छ। उद्योगी–व्यवसायीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याएका छन्।

उद्योग व्यापार संघ कपिलवस्तुको पाँचौँ वार्षिक साधारण सभामा सहभागी व्यवसायी तथा सरोकारवालाले व्यवसायीको मनोबल बढाउने, स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका हुन्।

उद्योग व्यापार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी रोकायाले उद्योग व्यापार संघले साना तथा ठूला व्यवसायको संरक्षण गर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्। उनले उद्योग व्यापार संघ कुनै राजनीतिक दलको भ्रातृ संगठन नभई व्यवसायीको हकहित र अधिकार संरक्षणका लागि स्थापित स्वतन्त्र संस्था भएको स्पष्ट पारिन्।

व्यवसायीका साझा समस्या उठाउने र उनीहरूको अधिकार संरक्षण गर्ने संस्थाका रूपमा संघले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै साना तथा मझौला व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा पनि उनले जोड दिइन्।

संघका निवर्तमान अध्यक्ष कपिल पौडेलले मुलुकको औद्योगिक तथा व्यावसायिक अवस्था सुधार गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए। अर्थतन्त्रलाई गतिशील बनाउने ठोस योजना ल्याउन सरकारलाई आग्रह गर्दै उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय व्यवसायीले भोगिरहेका समस्या, बजारको अवस्था, लगानीको वातावरण र उद्योग व्यवसायको संरक्षणका विषयमा धारणा राखेका थिए। व्यवसायीलाई प्रोत्साहित गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने र निजी क्षेत्रको मनोबल बढाउने खालका रचनात्मक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराइएको थियो।

संघको पाँचौँ वार्षिक साधारण सभाले संस्थाको प्रगति, वार्षिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।

सभामा अध्यक्ष टोपनारायण बेल्वासेले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, महासचिव माधव भाट क्षेत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शालिकराम आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको हो। कोषाध्यक्ष आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार संघको आर्थिक विवरण ८ लाख ५३ हजार ७ सय ३८ रुपैयाँ बराबरको रहेको छ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बेल्वासेले जिल्लाको उद्योग तथा व्यवसाय क्षेत्रको विकास र व्यावसायिक वातावरण सुधारलाई प्राथमिकतामा राखेर संघले स्थापना कालदेखि नै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए।

व्यवसायीको हकअधिकार संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा निजी क्षेत्रको सबलीकरण संघका प्रमुख प्राथमिकता रहेको उनको भनाइ थियो।

साधारण सभामा उद्योगी, व्यवसायी, व्यापारी, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संघले स्थापना कालदेखि नै व्यवसायीको हकहित, संस्थागत विकास र आर्थिक गतिविधि प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

संघका वरिष्ठ उपाध्यक्ष शंकर भाट क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव माधव भाट क्षेत्रीले गरेका थिए।

व्यवसायीका समस्या उठाउने र संस्थागत प्रतिवेदन पारित गर्ने नियमित प्रक्रियासँगै सम्पन्न साधारण सभाले कपिलवस्तुको निजी क्षेत्रको वर्तमान अवस्था र सुधारका आवश्यकताबारे साझा धारणा निर्माण गर्ने अवसरसमेत दिएको छ।

प्रतिक्रिया

खबर सबै