मंसिर ७ देखि लक्ष्मणघाटमा पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाटमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘लक्ष्मणघाट पूर्णिमा मेला तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ।”लक्ष्मणघाटको शान, कला संस्कृति संरक्षणमा हाम्रो अभियान”भन्ने मूल नाराका साथ आगामी मंसिर ७ गतेदेखि १० गतेसम्म मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो।

लक्ष्मणघाट बोलबमधाम विकास समितिको आयोजनामा तथा लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सह–आयोजनामा कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ।मेलालाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगर, लोकप्रिय गायक हेमन्त शर्मा र गायिका अञ्जु कुश्मी (फूलकुमारी) लगायतका कलाकारहरूको प्रस्तुति रहने छ।

त्यसैगरी दीपक गरौजा, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) तथा साहसी कदम नेपाल रुपन्देहीको विशेष प्रस्तुति समेत रहनेछ। विभिन्न कलाकारहरूको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले मेलाको रौनक बढाउने अपेक्षा गरिएको छ।लक्ष्मणघाट क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो। यस्ता कार्यक्रमले स्थानीय क्षेत्रको पहिचान स्थापित गर्नुका साथै नयाँ पुस्तालाई मौलिक कला, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

बाणगंगा नगरपालिका वडा नम्बर ६ वडा कार्यालयको संरक्षणमा सञ्चालन हुने कार्यक्रममा गाय छाप डिटर्जेन्ट पाउडर मुख्य प्रायोजक रहेको छ। त्यस्तै, लुम्बिनी दर्पण अनलाइन र लुम्बिनी राष्ट्रिय साप्ताहिकले मिडिया पार्टनरका रूपमा सहकार्य गर्ने भएका छन् ।

चार दिनसम्म सञ्चालन हुने मेलामा धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले स्थानीयवासी तथा बाहिरबाट आउने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको मेला संयोजक तेजेन्द्र थापाले बताउनु भयो ।

क पवित्र धार्मिक स्थलको रूपमा परिचित : लक्ष्मणघाट

कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको लक्ष्मणघाट एक पवित्र धार्मिक स्थलको रूपमा परिचित छ। वाणगंगा र कोइली नदीको संगमस्थलमा रहेको यस स्थानलाई लक्ष्मणघाटको रूपमा चिनिन्छ। पौराणिक कथन अनुसार, रामले सीताको प्यास मेट्न वाण हानेर पानी निकालेर बाणगंगा नदी बनाएका थिए। यसै नदीको तटमा राम–लक्ष्मण वनबासका क्रममा लक्ष्मणले स्नान गरेको घाट भएकोले यो ठाउँलाई लक्ष्मणघाट भनिएको हो।

जिल्लामा अवस्थित रूपमा रहेको लक्ष्मणघाट निकै चर्चित धार्मिक पर्यटकीय स्थल हो। हिन्दु धर्मावलम्बीका लागि लक्ष्मणघाट निकै पवित्र भूमि मानिन्छ। मन्दिर अवलोकनका लागि दैनिकजसो श्रद्धालु भक्तजन यस ठाउँसम्म पुग्ने गरेका छन्। छिमेकी देश भारतबाट पनि सयौंको संख्यामा तीर्थयात्री जल लिन यहाँ आउँने गर्छन्। धार्मिकस्थलको रूपमा परिचित लक्ष्मणघाट शवदहनका लागि निकै उति नै प्रख्यात छ।

प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको पाइन्छ ।

प्रतिक्रिया

खबर सबै