राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध

नेपालले राष्ट्रिय परिचयपत्र (एनआईडी)का आधारमा नेपालीलाई प्रवेश दिन भारत सरकारलाई अनुरोध गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नागरिकता र पासपोर्टसँगै राष्ट्रिय परिचयपत्रका आधारमा पनि नेपालीलाई आउजाउ गर्न दिन भारतलाई अनुरोध गरेको हो । 

“हामीले दुई साताअघि गृह मन्त्रालयबाट परराष्ट्र हुँदै भारतलाई राष्ट्रिय परिचयपत्रका आधारमा पनि प्रवेश दिन भारतलाई अनुरोध गरेका छौँ । उताबाट जवाफ आउन बाँकी छ,” अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले भने ।

नेपाल र भारतबीच खुला सीमाना रहँदै आएको छ । नेपाली र भारतीयलाई एकअर्काको देशमा आवतजावत गर्दा भिसा पनि आवश्यक पर्दैन । नेपाली नागरिकले नागरिकता वा पासपोर्टमध्ये एक देखाएर भारत प्रवेश पाउँदै आएका छन् ।

तर, अबदेखि तेस्रो कागजात राष्ट्रिय परिचयपत्रलाई पनि मान्यता दिन नेपालले भारतलाई अनुरोध गरेको हो । भारतले यसलाई स्वीकारे नेपाली नागरिकहरू तीनवटा परिचयपत्र (नागरिकता, पासपोर्ट र एनआईडी) मध्ये एउटा देखाएर भारत आउजाउ गर्न सक्नेछन् ।

निर्देशक ढकालका अनुसार, गत साता विभागमा काठमाडौंस्थित भारतीय दूतावासका सम्बन्धित अधिकारीलाई बोलाएर यसबारेमा छलफल पनि भएको थियो । छलफलमा राष्ट्रिय परिचयपत्रका आधारमा पनि भारत प्रवेश गर्नको लागि सहजीकरण गरिदिन अनुरोध गरिएको थियो । “छलफलमा भारतीय पक्ष निकै सकारात्मक भएको पाएका छौँ,” निर्देशक ढकालले भने ।

प्रतिक्रिया

खबर सबै