फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि प्रतिबन्ध लगाएपछि नेपाली राष्ट्रिय फुटबल टोली र क्लबहरू एसियाली फुटबल महासंघ (एएफसी) का आगामी प्रतियोगिताहरूमा सहभागी हुन नपाउने भएका छन् ।

एएफसीले एन्फाका महासचिव किरण राईलाई सम्बोधन गर्दै पठाएको पत्र अनुसार फिफाले जुन २४, २०२६ देखि लागू हुने गरी एन्फालाई निलम्बन गरेपछि यो संकट निम्तिएको हो । फिफा विधानको धारा १३ अनुसार एन्फाले आफ्ना सम्पूर्ण सदस्यता अधिकारहरू गुमाएको छ, जसका कारण नेपालका कुनै पनि प्रतिनिधि तथा क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन् ।

एएफसीले नेपालका सहभागी टोली र क्लबहरू हालका लागि एएफसी प्रतियोगिताका लागि अयोग्य ठहरिएको स्पष्ट पारेको छ । यदि तोकिएको समयसीमाभित्र एन्फामाथिको निलम्बन फुकुवा नभएमा नेपाली टोलीहरूलाई सम्बन्धित प्रतियोगिताबाट पूर्ण रूपमा हटाइने पत्रमा उल्लेख छ ।

एएफसीका अनुसार एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको ड्र जुलाई २ मा हुँदैछ । ड्र हुनुभन्दा तीन दिनअघि अर्थात् जुन २९, २०२६ सम्म निलम्बन फुकुवा नभएमा नेपाली टोली प्रतियोगिताबाट हट्ने एएफसीले जनाएको छ ।

त्यसैगरी, चीनमा हुने एएफसी यू-१७ महिला एसियन कपको प्रारम्भिक ड्र जुलाई १६ मा तय गरिएको छ । यसका लागि एएफसीले जुलाई १३, २०२६ सम्मको समयसीमा दिएको छ । त्यस्तै, चीनमै हुने एएफसी यू-२० एसियन कप छनोट खेल सुरु हुनुभन्दा ३० दिन अगाडि अर्थात् अगस्ट १, २०२६ सम्म निलम्बन फुकुवा हुनुपर्ने शर्त राखिएको छ।

यसअघि एन्फाले सन् २०२६/२७ को सिजनका लागि विभिन्न एएफसी प्रतियोगिताहरूमा सहभागिता जनाउन नाम दर्ता गराइसकेको र एएफसीले त्यसलाई स्वीकृत समेत गरिसकेको भए पनि फिफाको पछिल्लो कडा निर्णयका कारण नेपाली फुटबलको भविष्य अन्योलमा परेको छ ।

प्रतिक्रिया

खबर सबै