

बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप

बुटवल । सुकुमबासी बस्तीमा डोजर चलाइएपछि बुटवलमा आज भूमिहीन तथा सुकुमबासीहरूले प्रदर्शन गरेका छन् ।
आन्दोलनका अगुवाहरूले सरकार मानवीय संवेदनशीलता बेवास्ता गर्दै ‘निरंकुश शैलीमा अघि बढेको आरोप लगाए ।
नेपाल भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको र्याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले लालपुर्जा वितरण गर्नुपर्ने बेला सरकार डोजर आतंक मच्चाउन लागेको भन्दै विरोध जनाए । उनीहरूले डोजर अभियान नरोकिए थप सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले आफूहरूले दिएको मत सदर हुने तर बसोबासमाथि डोजर चलाउने सरकार नै अवैध भएको टिप्पणी गरे । उनले सरकारले मानवताको ख्याल नगरी ठाउँ–ठाउँमा डोजर आतंक मच्चाएको आरोप लगाए ।
संघर्ष समितिका रुपन्देही संयोजक खगेन्द्र पौडेलले बुटवलमा रोकिएको लालपुर्जा वितरण प्रक्रिया तत्काल सञ्चालन गर्न माग गरे । उनले बुटवल–रानीगञ्ज औद्योगिक क्षेत्र नजिक रहेका २७ घरपरिवारलाई हटाउने प्रयास स्वीकार्य नहुने भन्दै सोही स्थानमा व्यवस्थापन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
रुपन्देहीमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको संख्या अत्यधिक रहेको तथ्यांकले देखाएको छ । भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाका अनुसार जिल्लामा लालपुर्जाका लागि ७९ हजार २६१ घरपरिवारले निवेदन दिएका छन् । तीमध्ये भूमिहीन दलित ३ हजार ७६, भूमिहीन सुकुमबासी ६ हजार ७६१ तथा अव्यवस्थित बसोबासी ६९ हजार ४२६ परिवार रहेका छन् ।
सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १६ हजार ८७४ परिवारले लालपुर्जा पाएका छैनन् । त्यस्तै सैनामैना नगरपालिकामा १६ हजार १४२, देवदह नगरपालिकामा १४ हजार ३०, कञ्चन गाउँपालिकामा १२ हजार ४०२, तिलोत्तमा नगरपालिकामा ८ हजार २९२ तथा गैँडहवा गाउँपालिकामा ४ हजार ५०६ परिवार लालपुर्जाको प्रतीक्षामा छन् ।
प्रदर्शनमा बुटवल तथा आसपासका क्षेत्रका ठुलो संख्यामा भूमिहीन र सुकुमबासीहरूको सहभागिता रहेको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया