

माघीको तयारीमा थारू समुदाय


कैलाली– थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ ।
माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्य आ–आफ्नो कामको जिम्मेवारी लिएर खटिएका छन् । पुरुषहरू खाद्यान्नको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याई छ ।
पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायत कार्य धमाधम भइरहेको थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले जानकारी दिए ।
उनले भने, ‘माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटालगायत खानाका परिकार खाने चलन रहिआएकाले त्यसका लागि जुटेका छन् ।’ यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ लुगा किन्न गाउँबाट सहरबजार जान थालेका छन् । रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउन घर फर्कन थालेका संयोजक चौधरीले बताए ।
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न महिलालाई भ्याइनभ्याई छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलालीको गोदावरी नगरपालिका–७ फकलपुरका माधव चौधरीले बताए ।
‘गाउँमा हिजोआज बङ्गुर पाउन मुश्किल छ’, उनले भने, ‘केही दिनअघि गाउँमा भलमन्साको बैठक बसेर जिता (बङ्गुर) मार्ने, कस–कसको जिता मार्ने, गाउँमा नपुगेपछि कहाँबाट ल्याउने भन्ने जिम्मेवारी नै दिइएको छ ।’
माघीको तयारीका लागि एक महिनाअघिदेखि नै अण्डीको रोटी, ढिक्रीका लागि पिठो जोहो गर्ने, सिद्रा जोहो गर्ने, जिता (बङ्गुर) खोज्ने लगायत कार्य सुरु भएको चौधरीको भनाइ छ । उनले थारू जातिको संस्कृति झल्कने मघौटा नाचको तयारी पनि अहिलेदेखि नै सुरु भएको बताए ।
‘माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गरी आफूभन्दा ठूलाबाट आर्शीवाद लिने चलन छ’, चौधरीले भने, ‘आर्शीवाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने तथा छुट्याइएका ती चिजहरूमा थप परिकार थपेर घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।’
माघीमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ ।
थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको समेत आयोजना गरिएको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया