भूमि अधिकारका लागि कपिलवस्तुमा तीन दिने प्रशिक्षण सम्पन्न

कपिलवस्तु – राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको सहजीकरणमा “संगठन विकास र सुदृढीकरण” सम्बन्धी तीन दिने अगुवा प्रशिक्षण कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ। जिल्ला भूमि अधिकार मञ्चको व्यवस्थापन र आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जाल समुन्नतिको आर्थिक सहयोगमा आयोजित कार्यक्रम कपिलवस्तुको वाणगंगा नगरपालिका, बोडगाउँस्थित पत्रकार महासंघको हलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा विजयनगर, शिवराज, बुद्धभूमि, वाणगंगा, कपिलवस्तु,सहित विभिन्न स्थानीय तहका ३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रशिक्षण कार्यक्रमको उद्घाटन जिल्ला भूमि अधिकार मञ्चका अध्यक्ष निरपत थारुले गरेका थिए।

प्रशिक्षणको क्रममा संगठन विकास, जिल्लाको नक्शांकन, भूमि आयोगसँगको छलफल, र वार्षिक योजना निर्माण जस्ता विषयहरूमा केन्द्रित प्रशिक्षण प्रदान गरियो। सहभागीहरूले जिल्ला आयोग गठनपछिको भूमि नापजाँच, लगत संकलन, प्राथमिकता निर्धारण, र निस्सा प्राप्ती अभियानलाई सहजीकरण गर्न प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागीहरूले भूमि अधिकारको सुनिश्चितता र स्थानीय समुदायहरूको सशक्तिकरणका लागि एकजुट हुने र आयोगलाई आवश्यक दबाब र सहयोग प्रदान गर्ने संकल्प गरेका छन्।

यस प्रशिक्षणले भूमि अधिकार सम्बन्धी विषयमा थप जानकारी, सामूहिक रणनीति, र योजनाहरू बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

प्रतिक्रिया

खबर सबै