लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत धान रोपाइँ

बुटवल । यस वर्ष मध्य असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्। सिँचाइको अभावले समयमा धान रोप्नुपर्ने समस्या बर्सेनि दोहोरिने गरेको छ। आकाशे पानी कै भरमा धान खेती गर्नुपर्ने बाध्यता किसानको छ। यस वर्ष पनि लामो खडेरी र वर्षा सुरु नभएका कारण धान रोपाइँ गर्न सकिरहेका छैनन्।

कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।

‘यस वर्ष पनि समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा १८.५ प्रतिशत मात्रै रोपाई भएको छ ।’– कृषि अर्थ विज्ञ पौडेलले भने । यद्यपी यो वर्ष गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी धान रोपाई भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११.०९ प्रतिशत धान रोपाइँ भएको थियो ।

कृषि विकास निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका कृषि अर्थ विज्ञ पौडेलका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाइँ प्युठानमा भएको छ भने लुम्बिनी प्रदेशमा सबै भन्दा धान खेती हुने जिल्ला कपिलवस्तुमा भने सबै भन्दा कम रोपाइँ भएको छ । जवकी गत वर्ष यो अवधिमा कपिलबस्तुमा सबै भन्दा बढी रोपाई भएको थियो ।

प्युठानमा कुल ५ हजार २२० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने कपिलबस्तुमा ६९ हजार ४९७ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ ।

प्युठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रको ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने ६९ हजार ४८० हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ४ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै रुपन्देहीमा २३ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा १० प्रतिशत र बर्दियामा २३.८ प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ७२३ हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमध्ये ११ हजार ८९९ हेक्टरमा क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

बाँकेमा धान उत्पादन हुने ३४ हजार ८५० हेक्टर क्षेत्रफल मध्य ६९७ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य २ प्रतिशत मात्रै हो ।

नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ४८० हेक्टर क्षेत्रमध्ये ११ हजार ८७८ हेक्टर अर्थात ५८ प्रतिशत मात्रै रोपाई भएको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ११ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ७ हजार ९८८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने अहिलेसम्म ८७९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ७ सय ४२ हेक्टर क्षेत्रफल अर्थात ९ प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २४० हेक्टर क्षेत्रफलमा रोपाई हुने निर्देशनालयका कृषि अर्थ विज्ञ पौडेलले बताए । यता प्यूठानमा ७५ प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा २२ प्रतिशत रोपाई भएको छ ।

रोल्पामा ३ हजार ४४६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा १ हजार ६९४ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । रोल्पामा ४ हजार ५९५ हेक्टर र अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । यस्तै रुकुम पूर्वमा धान रोपाई हुने ९६२ हेक्टर क्षेत्रफल मध्य १०६ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ । जुन कुल धान रोपाई हुने क्षेत्रफलको ११ प्रतिशत हो ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा कम मात्रामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकारी युवराज ढकालले बताए । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।

साथै यो वर्ष धान रोपाईका लागि आवश्यक पर्ने मल गत वर्षको तुलनामा धेरै नै स्टक रहेकाले मलको अभाव नहुने प्रवक्ता ढकालले दाबी गरे । ‘यो वर्ष लुम्बिनी प्रदेशमा मलको स्टक गत वर्षको तुलनामा धेरै नै छ । यसकारणले यो वर्ष जस्तो मलको अभाव हुँदैन् ।’– मन्त्रालयका प्रवक्ता ढकालले भने ।

लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध छन् । जवकी नेपाल भर ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा आवद्ध रहेका छन् ।

तर, लुम्बिनी प्रदेशमा कृषि पेशामा आवद्ध रहेका घर परिवारहरु मध्ये ५१ प्रतिशत घरपरिवारलाई वर्षभरि खान पुग्दैन् । राष्ट्रिय तथ्याङ्क कार्यालयको पछिल्लो तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा कृषि पेश गर्ने मध्य ४९ प्रतिशतलाई मात्रै वर्षभरि खान पुग्छ ।

ग्लोबल आवाज

प्रतिक्रिया

खबर सबै