मूर्ति विसर्जनका क्रममा बेपत्ता भएकाको खोजी जारी

रुपन्देही

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलवार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । त्यस दुर्घटनामा परेर दुई जनाको ज्यान गएको थियो भने एकजना हराएका थिए । कोटहीमाई गाउँपालिका–१ अमरगञ्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन् ।

त्यस दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी कार्य भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर ज्यान गएका दुई जनाको शव खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए । उनीहरुको शव पोष्टमर्टमका लागि भैरहवा लगिएको छ।

खोलामा डुबेर ज्यान जानेमा अमरगञ्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेका छन् । अजयकुमार जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत प्रहरी जवान हुन् । दशैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै