विषालु च्याउ खाँदा दाङमा दुई जना बिरामी

दाङ । दाङमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका छन् । जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा गढवा गाउँपालिका–५ धर्मापुरमा एकै परिवारका दुई जना बिरामी परेका हुन ।

मङ्गलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा धर्मापुर निवासी ७२ वर्षीय बसन्तु चौधरी र उहाँकी ७६ वर्षीया श्रीमती छुकनी चौधरी बिरामी भएका गढवा स्वास्थ्य चौकीका प्रमुख सूर्यनारायण यादवले जानकारी दिनुभएको छ ।

बिहान साढे १० बजेतिर खाना खाएका उनीहरुलाई रिँगटा लाग्ने, वान्ता हुने जस्ता समस्या देखापरेपछि स्वास्थ्य चौकीमा भर्ना हुनुभएको प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘जङ्गलबाट खोजेर ल्याएको विषालु च्याउ खाँदा दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यचौकी प्रमुख यादवले बताउनुभयो । केही दिनअघि पनि दाङकै बङ्गलाचुली गाउँपालिका वडा नं. १ को स्युजमा विषालु च्याउ खाँदा दुई जना बिरामी परेका थिए ।

जङ्गली विषालु च्याउ खाएर मानिसहरु बिरामी पर्न थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले जङ्गली च्याउ नखान सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै