मलाई स्वतन्त्र उम्मेदवारको चुनौती छैन : भुसाल

काठमाण्डौ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं. ३ बाट गठबन्धनको साझा उम्मेदवार बन्नुभएकी मन्त्री भुसालले आज बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारको चुनौती नभएको बताउनुभएको हो । उहाँले आफू नागरिकको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका काम हेरेर नागरिकले मत दिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो दुई कार्यकाल हेरेर उहाँहरूले मत दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरूको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन । मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरूको क्षेत्र हो ।’

भुसालले नेपालमा दलीय राजनीति बलियो भएको बताउनुभयो । सबै राजनीतिक दलको पार्टी संरचना पालिकासम्म पुगेको भन्दै उहाँले नागरिकले पार्टी हेरेर भोट दिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलीय राजनीति हाम्रो बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलको केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि संरचना भएको हुँदा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर मत दिन्छन् ।’

उहाँले युवा राजनीतिमा आउँदा विचार, चिन्तन र देश हाँक्ने योजनासहित आउनुपर्ने बताउनुभयो । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको जोसले मात्रै राजनीतिले गति लिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

खबर सबै