सभामुखज्यू, नाङ्लो ठटाएर हात्ती तर्साउने काम नगर्नुस् : अध्यक्ष ओली

काठमाण्डाै

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ ।

आज मङ्गलवार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन चेतावनी दिनुभएको हो । उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरूलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनुभयो । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद् पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ वाह ? संसदीय  भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ–कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन ।’

अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदलाई निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराउनुभयो । उहाँले भन्नुभयाे, ‘निकाल्छु भन्नेहरूलाई, कारबाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई म आवेग र उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला ।’

प्रतिक्रिया

खबर सबै