बागलुङको एक विद्यालयका ३० जनामा कोभिड संक्रमण

पर्वत

 बागलुङको एक विद्यालयका ३० जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बिहीबार र शुक्रबार परीक्षण गरेको थियो ।

केहीको एन्टिजेन र केहीको पीसीआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार १०० जनामा परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो । ‘नयाँ भेरिएन्ट हो कि भनेर जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’

कोरोना पुष्टि हुनेमा १७ वर्षमुनिका २१ जना र १७ वर्ष उमेरभन्दा माथिका ९ जना रहेका छन् ।

वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।

प्रतिक्रिया

खबर सबै