मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्छ : सचेतक खाँण

बसन्ता भुसाल/रुपन्देही

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकलाई निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनु भएको छ । मुलुकको राजनीतिमा अहिले कालो बादल मडारिएको भन्दै खाँणले मुलुकलाई निकास दिन कांग्रेसले निर्णय लिन अब ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

राजधानी काठमाण्डौं उपत्यका बाहिरको पहिलो स्याटलाइट टेलिभिजन राज्य टेलिभिजनद्धारा शुक्रबार बुटवलमा आयोजित मानवअधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पुर्वमन्त्री समेत रहनुभएका खाँणले संविधान र लोकतन्त्रलाई कमजोर बनाउन खोज्नेहरुसँग सहकार्य हुन नसक्ने बताउनुभयो ।
संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व सरकारको भएको भन्दै कांग्रेस नेता खाँणले बर्तमान सरकार बनेदेखिनै संविधानको मूल्य मान्यता र मर्ममाथि प्रहार गर्दै आएको आरोप लगाउनुभयो ।

मुलुकमा पटक÷पटक ठूला राजनीतिक परिवर्तनहरु भए पनि परिवर्तनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुन नसकेको भन्दै उहाँले मुलुकमा विकसित राजनीतिक घटनाक्रमका कारण जनतामा निरासा बढेर गएकोले त्यसले ठूलो बिद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरु आफै समाप्त भएको इतिहास स्मरण गर्दै नेता खाँणले संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने बर्तमान सरकारको नेतृत्वकर्ताहरु पनि समाप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

जनतालाई राज्यसत्ताको मालिक बनाउने आन्दोलनको नेतृत्व कांग्रेसले गर्दै आएको भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि कांग्रेसले नेतृत्व लिने बताउनुभयो । उहाँले प्रतिगमन बिरुद्धको आन्दोलनमा सहभागि दलहरुबीच हातेमालो गरेर अगाडि बढ्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्राध्यापक संघका अध्यक्ष डा.बुद्धबहादुर थापा,संबिधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, मानबअधिकार तथा शान्ति समाजका सभापति समेत रहनुभएका राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनाल,प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा.बालकृष्ण चापागाई,प्रकाशन तथा प्रसारण समाजका सचिव माधव नेपाल,नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरा गौतम, राज्य टेलिभिजनका सञ्चालक डा.बिनोद पराजुली लगायतले बोल्दै मानबअधिकारको प्रवद्र्धन र सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि मिडिया बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा विभिन्न क्षेत्र र विद्यामा विजयी हुनु भएकाहरुलाई सम्मान्न गरिएको थियो ।

प्रतिक्रिया

खबर सबै